११ फागुन ,बिरगंज । — पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरेका हुन्। आदेशअनुसार तोकिएको चार किल्लाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने उल्लेख गरिएको छ।
कर्फ्यू लागू गरिएको क्षेत्र वीरगंज महानगरपालिकाभित्र सीमित गरिएको छ। प्रशासनले तोकेको सीमा यसप्रकार छ—
पूर्व : बाइपास रोड
पश्चिम : सिर्सिया नदी
उत्तर : गण्डक चौक
दक्षिण : शंकराचार्य गेट
जिल्ला प्रशासन कार्यालयले कर्फ्यू अवधिभर अत्यावश्यक सेवामा भने अवरोध नहुने स्पष्ट पारेको छ। एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण गरिने जनाइएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी संयमता अपनाउन अपिल गरेको छ।
















