भौतिक चुनाव चिह्न प्रयोगमा रोक, रास्वपाको घण्टी पनि नचल्ने

१० फागुन, काठमाडौ । — आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसारका क्रममा केही राजनीतिक दल वा उम्मेदवारले भौतिक स्वरुपका निर्वाचन चिह्न बोकेर प्रयोग गरेको विषयमा गुनासा आएपछि निर्वाचन आयोगले त्यस्तो कार्य नगर्न निर्देशन दिएको छ।
आयोगका अनुसार कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डअनुसार निर्वाचन चिह्न प्रयोग गर्न पाइने भए पनि धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका भौतिक चिह्न बोकेर प्रचार गर्दा सुरक्षा जोखिम बढ्ने उजुरी प्राप्त भएको छ। यस्तो कार्यले सार्वजनिक शान्ति र सुरक्षामा प्रतिकूल असर पर्न सक्ने आयोगको ठहर छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१(१) ले निर्वाचन चिह्न आयोगले निर्धारण गर्ने व्यवस्था गरेको छ। यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा ४३(१) अनुसार दल र स्वतन्त्र उम्मेदवारलाई अनुसूची–३० र अनुसूची–३१ बमोजिमका चिह्न प्रदान गरिने उल्लेख छ। साथै, निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा दलको झण्डा र चुनाव चिह्न प्रयोगको मापदण्ड स्पष्ट गरिएको छ।
आयोगको यो निर्देशनसँगै भौतिक स्वरुपमा प्रयोग हुँदै आएका विभिन्न चुनाव चिह्न अब प्रयोग गर्न नपाइने भएको छ। यस अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रचारप्रसारमा प्रयोग गर्दै आएको घण्टीको भौतिक प्रतीकसमेत अब प्रयोग गर्न नपाइने स्पष्ट भएको छ। आयोगले आचारसंहिता विपरीत कार्य गरेको पाइएमा आवश्यक कारबाही गरिने चेतावनी दिएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more