मटन खान पाउने हो भने गाई खान किन नपाउने?’ — अभिव्यक्तिपछि रास्वपाका उम्मेदवार खगेन्द्र सुनार विवादमा

माघ १२, काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनार एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण विवादमा परेका छन्। “मटन खान पाउने हो भने गाई खान किन नपाउने?” भन्ने उनको भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना र बहस सुरु भएको हो।
सुनारले उक्त अभिव्यक्ति एक टेलिभिजन अन्तर्वार्ताका क्रममा दिएका थिए। क्लिप सामाजिक सञ्जालमा भाइरल भएसँगै संविधान, प्रचलित कानुन र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषयमा प्रश्न उठ्न थालेका छन्। आलोचकहरूले नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावरका रूपमा मान्यता दिएको र गाईबध निषेध गरिएको प्रावधान स्मरण गराउँदै उम्मेदवारको अभिव्यक्ति असंवेदनशील र विवादास्पद भएको टिप्पणी गरेका छन्।
नेपालको संविधानको धारा ९ ले गाईलाई राष्ट्रिय जनावरका रूपमा उल्लेख गरेको छ भने मुलुकी अपराध संहिता, २०७४ ले गाई वा गोरुको बध तथा गम्भीर चोटपटकलाई दण्डनीय अपराध मानेको छ। यस्तो कानुनी व्यवस्थाको पृष्ठभूमिमा सार्वजनिक पदका लागि उम्मेदवारी दिएका व्यक्तिबाट आएको अभिव्यक्तिले कानुनप्रति सम्मान र संवेदनशीलताको प्रश्न उठाएको टिप्पणी भइरहेको छ।
यता, सुनार निकट स्रोतहरूले भने उनको अभिव्यक्तिलाई सन्दर्भबाट बाहिर निकालेर प्रस्तुत गरिएको दाबी गरेका छन्। उनीहरूले खाद्य स्वतन्त्रता र व्यक्तिगत अधिकारको सन्दर्भमा बहस अघि बढाउन खोजिएको विषयलाई अनावश्यक रूपमा राजनीतिक रंग दिइएको बताउँदै आएका छन्।
रास्वपाले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन। बाँके–३ मा ‘जित्ने दाबी’ गरिरहेका सुनारका लागि यो विवाद चुनावी अभियानका क्रममा नयाँ चुनौतीका रूपमा देखिएको छ। सामाजिक सञ्जालमा समर्थक र विरोधीबीच तीव्र बहस जारी रहँदा यसले मतदाताको धारणा कति प्रभावित पार्छ भन्ने प्रश्न पनि उब्जिएको छ।।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more