भावी प्रधानमन्त्रीका दाबेदार गगन थापा सर्लाही–४ आइपुगे, पाँच वर्ष जनताकै बीचमा रहने प्रतिबद्धता

माघ १२, सर्लाही ।  नेपाली कांग्रेसका सभापति तथा पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका गगनकुमार थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ आइपुगेका छन्। सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेश झरेका थापालाई सर्लाही–रौतहट सीमास्थित बागमती कर्मैयामा नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए।
काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका थापाले धनकौल बजारस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्दै आफू सेवकको रूपमा काम गर्न क्षेत्र आएको बताए। उनले आगामी पाँच वर्ष यहीँ जनताकै बीचमा बसेर शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
“म यहाँ नेता होइन, सेवकका रूपमा आएको हुँ। जनताको विश्वास जितेर सर्लाही–४ लाई नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्य छ,” थापाको भनाइ थियो। उनले तराई–मधेशको रहनसहन, संस्कृति र पर्व–परम्परा आफूका लागि प्रेरणाको स्रोत हुने उल्लेख गरे।
तीन दिनसम्म क्षेत्रका विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ। यस क्रममा उनले स्थानीय सरोकारका मुद्दा संकलन गर्ने र प्राथमिकताका आधारमा कार्ययोजना बनाउने तयारी गरेका छन्।
यस निर्वाचन क्षेत्रमा थापा निवर्तमान सांसद अमरेशकुमार सिंहसँग प्रतिस्पर्धामा छन्। सिंह २०७० सालदेखि निरन्तर उक्त क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। यसपटक उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका छन्।
थापाको स्वागत कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलगायत प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। चुनावी सरगर्मी बढ्दै जाँदा सर्लाही–४ मा मुख्य प्रतिस्पर्धा थापा र सिंहबीच केन्द्रित हुने देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more