कांग्रेसको ‘आत्महत्या’: समानुपातिक सूची कि स्वार्थको सूची?- प्रफुल्लराज घिमिरे

पुस १६, जनकपुरधाम।—नेपाली कांग्रेसका नेता प्रफुलराज घिमिरेले पार्टीको समानुपातिक सूचीप्रति गम्भीर प्रश्न उठाउँदै यसलाई कांग्रेसको “आत्महत्या” सँग तुलना गरेका छन्। उनले सार्वजनिक गरेको ७ बुँदे राजनीतिक निष्कर्षमा वर्तमान समानुपातिक अभ्यास लोकतान्त्रिक मर्मबाट पूर्णतः विचलित भइसकेको र नेतृत्वको स्वार्थ–संरक्षणको साधनमा सीमित भएको आरोप लगाएका छन्।

घिमिरेका अनुसार समानुपातिक प्रणाली अब वञ्चित समुदायको प्रतिनिधित्व गर्ने माध्यम रहेन। बरु यसले त्याग, योगदान र संगठनात्मक अनुशासनको मूल्य समाप्त गर्दै कार्यकर्तामा निराशा र विद्रोह पैदा गरिरहेको छ। यही विकृत सूची प्रणाली नै कांग्रेसको संगठनात्मक संकटको मूल कारण बनेको उनको निष्कर्ष छ।

उनले पार्टी नेतृत्वले संस्थापक नेता बी.पी. कोइरालाको दर्शनलाई गुटीय सम्झौतामा सीमित गरेको आरोप पनि लगाएका छन्। “सिद्धान्तलाई सत्ता–सम्झौतामा रूपान्तरण गर्दै कांग्रेसको वैचारिक पहिचान मेटिँदै गएको छ,” घिमिरेको भनाइ छ।
७ बुँदे निष्कर्षमा समानुपातिक सूचीले कांग्रेसलाई जनमुखी पार्टीबाट नेतृत्वमुखी ‘कम्पनी’ मा रूपान्तरण गरिरहेको उल्लेख छ। यस किसिमको रूपान्तरणले पार्टीको दीर्घकालीन अस्तित्वमै प्रश्नचिन्ह खडा गरेको उनको चेतावनी छ।
घिमिरेले समानुपातिक सूची निर्माण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र योग्यता मूल्यांकनको पूर्ण अभाव रहेको बताएका छन्। उनका अनुसार नाम छनोटमा संस्थागत मापदण्ड होइन, व्यक्तिगत पहुँच निर्णायक बन्न पुगेको छ।
यदि यही प्रवृत्ति निरन्तर रहिरहे कांग्रेस केवल चुनावी पराजयमा सीमित नहुने, ऐतिहासिक पतनतर्फ नै अग्रसर हुने खतरा रहेको उनको निष्कर्ष छ। “संगठन र जनविश्वास एकसाथ गुमाउने अवस्था स्पष्ट देखिन्छ,” उनले उल्लेख गरेका छन्।
कांग्रेस पुनर्जीवनको एकमात्र मार्ग समानुपातिक प्रणालीको संरचनागत सुधार भएको घिमिरेको ठहर छ। पारदर्शी मापदण्ड, योगदानको निष्पक्ष मूल्यांकन, क्षेत्रीय सन्तुलन र संगठनको सर्वोच्चता सुनिश्चित नगरी कांग्रेस पुनः उभिन नसक्ने उनले स्पष्ट पारेका छन्।

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more