बालेन शाहको नयाँ राजनीतिक दलतर्फ संकेत, ३० भन्दा बढी प्रभावशाली व्यक्तिसँग गोप्य भेटघाट

पुस १०, काठमाडौ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीका संकेत दिएका छन्। यसक्रममा उनले राजनीतिज्ञ, अभियन्ता, कलाकार र सञ्चारकर्मीसहित ३० जनाभन्दा बढी व्यक्तिसँग भेटघाट गरेका छन्।
बालेनले बुधबार आफ्ना साथी कुमार बेनको ललितपुरस्थित निवासमा दिनभर विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूसँग अलग–अलग तथा सामूहिक छलफल गरेका हुन्। उक्त भेटघाटमा वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, राप्रपाका नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी थिए। साथै, महानगरका सल्लाहकार सुनिल लम्सालको उपस्थितिमा पूर्वसचिव भीम उपाध्याय, अभियन्ता सागर ढकाल, जेनजी अभियन्ता रक्षा बम र केपी खनालसँग पनि संवाद भएको थियो।

कलाक्षेत्रबाट निश्चल बस्नेत, सञ्चारकर्मी सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमलालगायतसँग पनि बालेनले बेग्लाबेग्लै भेट गरेका छन्। कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँगसमेत कुराकानी भएको बताइएको छ।
भेटघाटमा सहभागी पूर्वसचिव भीम उपाध्यायका अनुसार बैठकमा सामूहिक छलफलका साथै एकल संवादसमेत भएका थिए। “भेटघाटबाट उहाँहरू चुनावी प्रक्रियातर्फ जान खोजिरहेको संकेत देखिन्छ,” उपाध्यायले बताए, “सम्भावित सहयात्री र समर्थनबारे बुझ्न उहाँले विभिन्न व्यक्तिसँग संवाद गर्नुभएको जस्तो लाग्यो।”
उपाध्यायले बालेन काठमाडौं महानगरको मेयरमा उम्मेदवार हुँदा आफूले सहयोग गरेको स्मरण गर्दै अहिले पनि वैकल्पिक शक्तिलाई एकताबद्ध गर्ने प्रयासमा सहयोग रहने बताएका छन्। यद्यपि, आफू सक्रिय राजनीतिमा नजाने तर बाहिरबाट सहयोग गर्ने स्पष्ट पारेका छन्।

भेटघाटका क्रममा बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोमबार साँझदेखि मध्यरातसम्म भएको छलफलको विषयमा पनि जानकारी गराएका थिए। “रविजीसँग छलफल त भयो, तर ठोस प्रस्ताव आएन,” बालेनको भनाइ उद्धृत गर्दै उपाध्यायले भने, “अहिलेलाई बेग्लै तरिकाले अघि बढ्ने निष्कर्षतर्फ कुरा गएको छ।”
उनका अनुसार, बालेनका सहयोगीहरूले ‘देश विकास पार्टी’ निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्, जसको चुनाव चिह्न ‘लौरो’ रहेको छ। आवश्यक परेमा उक्त पार्टीमार्फत अघि बढ्ने तयारी गरिएको बताइएको छ। यसअघि पार्टी अनन्तराज घिमिरेको नाममा रहे पनि पछि बालेनका सहयोगीको नाममा स्थानान्तरण गरिएको जनाइएको छ।

भेटघाटमा सहभागी अर्का एक सदस्यका अनुसार, बालेनले अधिकांश सहभागीलाई पार्टी घोषणा गरेमा समर्थन रहने–नरहनेबारे सोधेका थिए। सचिवालयका एक सदस्यका अनुसार अधिकांशबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। साथै, बालेन पुराना दलका केही नयाँ अनुहारहरूसँग पनि निरन्तर संवादमा रहेको बताइएको छ।

यसैबीच, रास्वपाका केही नेताहरूले बालेनलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सार्ने विकल्पबारे पनि छलफल गरेका थिए। तर, भेटवार्तापछि रवि लामिछानेले चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उक्त चरणमा संवाद त्यस तहसम्म नपुगेको बताएका थिए। उनले आ–आफ्नो बुझाइअनुसार विषय व्याख्या भएको उल्लेख गर्दै अन्य शक्तिसँग पनि छलफल जारी रहेको स्पष्ट पारेका थिए।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more