पुस ९, अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसमाथि हिंसा र अस्थिरताको आरोप
काठमाडौँ/ढाका — बंगलादेशकी पदच्युत प्रधानमन्त्री शेख हसिनाले आफूलाई राजनीतिक प्रतिशोधका लागि देश फर्किन माग गर्न नसकिने स्पष्ट पारेकी छन्। समाचार संस्था एएनआईसँग इमेलमार्फत दिएको अन्तर्वार्तामा उनले हाल बंगलादेशमा बढ्दो हिंसा र अस्थिरताको मुख्य जिम्मेवार अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस रहेको आरोप लगाएकी छन्।
हसिनाका अनुसार जुलाई आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक अभियन्ता शरीफ उस्मान हादीको हत्या पछि बंगलादेशमा पुनः हिंसाको लहर फैलिएको छ। हादीलाई डिसेम्बर १२ मा ढाकामा रिक्सा चढिरहेका बेला नजिकैबाट गोली हानिएको थियो। टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि सिंगापुर लगिएको थियो, जहाँ डिसेम्बर १८ मा उनको मृत्यु भएको थियो।
“हादीको हत्या मेरो सरकार पतन गराउने अराजकताकै निरन्तरता हो, जुन युनुसको शासनमा झनै बढेको छ,” हसिनाले भनिन्। “हिंसा अब सामान्यजस्तै बनेको छ, तर अन्तरिम सरकार या त यसलाई अस्वीकार गरिरहेको छ, वा रोक्न असक्षम छ।” उनका अनुसार यस्ता घटनाले बंगलादेशभित्र मात्र होइन, छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई समेत अस्थिर बनाइरहेको छ।
हादीको हत्यापछि ढाकामा द डेली स्टार र प्रोथम आलो जस्ता ठूला सञ्चारगृह तथा छायानट र उदिची शिल्पी गोष्ठीजस्ता सांस्कृतिक संस्थामाथि समेत आक्रमण भएको हसिनाले उल्लेख गरिन्। यसप्रति चिन्ता व्यक्त गर्दै उनले भारतसहित छिमेकी मुलुकहरू बंगलादेशको अवस्थाबारे चिन्तित रहेको बताइन्। “भारतले यहाँको अराजकता, अल्पसंख्यकमाथिको अत्याचार र हामीले निर्माण गरेका संरचनाहरूको क्षय देखिरहेको छ,” उनले भनिन्।
हसिनाले युनुस नेतृत्वको अन्तरिम सरकारले कट्टरपन्थीहरूलाई क्याबिनेटमा स्थान दिएको, जेलमा रहेका सजाय भोगिसकेका आतङ्ककारीहरूलाई रिहा गरेको र कट्टर संगठनहरूमाथि लगाइएको प्रतिबन्ध हटाउने संकेत दिएको आरोप लगाइन्। “उनी राजनीतिज्ञ होइनन् र जटिल राष्ट्र सञ्चालनको अनुभव पनि छैन,” हसिनाले भनिन्। “मेरो डर के हो भने कट्टरपन्थीहरूले उनलाई अन्तर्राष्ट्रिय समुदायसामु स्वीकार्य अनुहारका रूपमा प्रयोग गरिरहेका छन्।”
दिल्ली–ढाका सम्बन्धबारे बोल्दै हसिनाले भारतविरुद्ध भइरहेका प्रदर्शन र हिन्दु युवक दीपु चन्द्र दासको निर्मम हत्यालाई पनि उदाहरणका रूपमा प्रस्तुत गरिन्। मयमन्सिंहमा २७ वर्षीय दासलाई इस्लामविरुद्ध टिप्पणी गरेको आरोप लगाउँदै कुटपिट गरी हत्या गरिएको थियो। तर अनुसन्धानले त्यस्तो टिप्पणी गरेको कुनै प्रमाण नपाएको उनले बताइन्। अन्तरिम सरकारले धार्मिक अल्पसंख्यकको सुरक्षा गर्न असफल भएको उनको आरोप छ।
भारतसँगको सम्बन्धबारे उनले भनिन्, “युनुस सरकारले भारतविरुद्ध शत्रुतापूर्ण अभिव्यक्ति दिन्छ, अल्पसंख्यकको रक्षा गर्न सक्दैन र कट्टरपन्थीहरूलाई विदेश नीति निर्धारण गर्न दिन्छ। भारत दशकौँदेखि बंगलादेशको सबैभन्दा भरोसायोग्य मित्र हो।” चिटगाउँस्थित भारतीय भिसा आवेदन केन्द्रले सेवा स्थगित गर्नु पनि असुरक्षाकै परिणाम भएको उनको भनाइ छ।
आफूमाथि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको विषयमा प्रतिक्रिया दिँदै हसिनाले उक्त फैसला “न्यायको आवरणमा गरिएको राजनीतिक हत्या” भएको दाबी गरिन्। “मलाई आफ्नो बचाउ गर्ने अधिकार दिइएन, आफूले चाहेको वकिलसमेत रोज्न दिइएन,” उनले भनिन्।
आगामी फेब्रुअरीमा हुने भनिएको निर्वाचनबारे हसिनाले अवामी लिगबिनाको चुनावलाई “राजतिलक” को संज्ञा दिँदै भनिन्, “अवामी लिगबिनाको चुनाव चुनाव होइन।” उनका अनुसार पार्टीमाथि प्रतिबन्ध कायम रहे लाखौँ नागरिक मताधिकारबाट वञ्चित हुनेछन्।
आफूलाई प्रत्यर्पण गर्न माग भइरहेका विषयमा प्रतिक्रिया दिँदै उनले यसलाई “निराश हुँदै गएको युनुस प्रशासनको प्रयास” भनेकी छन्। भारतले दिएको आतिथ्य र समर्थनप्रति आभार व्यक्त गर्दै उनले आफू न्यायबाट भागेर होइन, थप रक्तपात रोक्न बंगलादेश छाडेको स्पष्ट पारिन्।
“राजनीतिक हत्या गर्न मलाई फर्किन माग गर्न सकिँदैन,” हसिनाले भनिन्। उनले हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लैजान युनुसलाई चुनौती दिँदै स्वतन्त्र अदालतमा आफू निर्दोष ठहरिने दाबी गरिन्। वैध सरकार र स्वतन्त्र न्यायपालिका पुनःस्थापित भएपछि आफू खुशीसाथ बंगलादेश फर्किने उनको भनाइ
















