२१ बैशाख , काठमाडौ । भारत सरकारले लिपुलेक क्षेत्रसम्बन्धी नेपालको दाबीलाई ‘तथ्यहीन’ र ‘एकतर्फी’ भन्दै अस्वीकार गरेको छ। भारतको विदेश मन्त्रालय ले आइतबार जारी गरेको विज्ञप्तिमा यस्तो प्रतिक्रिया जनाएको हो।
विज्ञप्तिअनुसार मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले लिपुलेक भञ्ज्याङ सन् १९५४ देखि नै कैलाश–मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको उल्लेख गरेका छन्। उनले उक्त मार्ग कुनै नयाँ विकास नभएको स्पष्ट पार्दै सो क्षेत्रबारे भारतको अडान “स्पष्ट र स्थिर” रहेको बताएका छन्।
भारतले नेपालले पछिल्लो समय उठाउँदै आएको क्षेत्रीय दाबीहरूलाई ‘कृत्रिम’ र ‘एकतर्फी’ भन्दै ती ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको जिकिर गरेको छ। विज्ञप्तिमा नेपालको दाबी न्यायोचित नभएको र कुनै पनि अवस्थामा स्वीकार्य नहुने उल्लेख गरिएको छ। साथै, उक्त क्षेत्र आफ्नो भूभाग भएको दाबी भारतले पुनः दोहोर्याएको छ।
यता नेपालको परराष्ट्र मन्त्रालय ले भने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भूभाग भएको दाबी गर्दै आएको छ।
यद्यपि, कडा अभिव्यक्तिका बाबजुद भारतले नेपालसँगका सबै द्विपक्षीय विषयमा संवादमार्फत समाधान खोज्न आफू सकारात्मक रहेको जनाएको छ। आपसी सहमति र कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न तयार रहेको उल्लेख गर्दै भारतले सम्बन्ध सुधार र वार्ताको ढोका खुल्ला राखेको संकेत दिएको छ।


















