पुस ८, जनकपुरधाम।— पछिल्लो केही दिनदेखि अचानक चिसोपन बढ्दै शीतलहरको प्रभाव तीव्र हुन थालेपछि जनकपुरधाम उपमहानगरपालिकाले सर्वसाधारणका लागि आगो ताप्न दाउरा वितरण सुरु गरेको छ।
उपमहानगरपालिकाका अनुसार बढ्दो चिसोका कारण दैनिक मजदुरी गर्ने श्रमिक, वृद्धवृद्धा, बालबालिका तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएपछि राहतस्वरूप दाउरा वितरण गरिएको हो। चोक–चोक र भीडभाड हुने स्थानमा आगो ताप्ने व्यवस्था मिलाइँदै दाउरा उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको छ।
नगरपालिकाले विशेष गरी खुला ठाउँमा बसोबास गर्ने, बिहान–साँझ अत्यधिक चिसो सहनुपर्ने वर्गलाई प्राथमिकतामा राखेर दाउरा वितरण गरिरहेको छ। शीतलहर अझै केही दिन रहने सम्भावना रहेकाले आवश्यकताअनुसार थप दाउरा वितरण र आगो ताप्ने स्थान विस्तार गरिने जनाइएको छ।
स्थानीयवासीहरूले उपमहानगरपालिकाको पहललाई समयानुकूल भन्दै स्वागत गरेका छन्। उनीहरूले चिसोबाट जोगिन दाउरासँगै न्यानो कपडा र अस्थायी आश्रयको व्यवस्थासमेत गर्न माग गरेका छन्।


















