जनकपुरधाममा कर्फ्यु अन्त्य, निषेधाज्ञा भने यथावत्

१६ साउन, जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाको संवेदनशील क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाएको छ। जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार शनिबार बिहान १० बजेदेखि कर्फ्यु हटाइएको हो।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलद्वारा जारी आदेशअनुसार अब कर्फ्यु हटे पनि अर्को आदेश नभएसम्म तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एकै स्थानमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न भने निषेध गरिएको छ।
यसअघि साउन १४ गते दिउँसो ३:३० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम चारकिल्लाभित्र कर्फ्यु आदेश लागू गरिएको थियो। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै जिल्ला सुरक्षा समितिले कर्फ्यु हटाउने निर्णय गरेको प्रशासनले जनाएको छ।
प्रशासनले निषेधाज्ञाको उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
निषेध आदेश लागू गरिएको क्षेत्रको चारकिल्ला उत्तरतर्फ लक्ष्मीनियाँ हटबजार चोकदेखि सिनुरजोडासम्म, पूर्वतर्फ बेलौनी रोड–एमबी स्टिल क्षेत्रदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा–सोहनी–ननिमण्डप–नेपाल नर्सरी हुँदै जनकपुर–दुहबी पुल, बेला र कादरी मस्जिद क्षेत्रसम्म निर्धारण गरिएको प्रशासनले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more