विस्थापित सुकुम्बासीबारे ‘ज्ञान क्रान्ति’को खाका ल्याउन माग, प्रधानमन्त्रीलाई शंकर पोखरेलको चुनौती

१९ बैशाख ,काठमाडौं । शंकर पोखरेल ले विस्थापित सुकुम्बासीहरूको पुनःस्थापनाका लागि स्पष्ट र दीगो योजना ल्याउन सरकारलाई चुनौती दिएका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह लाई लक्षित गर्दै ‘ज्ञान क्रान्ति’को ठोस खाका प्रस्तुत गर्न आग्रह गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्तीमा डोजर चलाएर हजारौँ नागरिकलाई विस्थापित गरिएको अवस्थामा उनीहरूको पुनःस्थापनाका लागि स्पष्ट नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन्।
उनले ‘वास्तविक क्रान्ति ज्ञानबाट सुरु हुन्छ’ भन्ने धारणा उल्लेख गर्दै वर्तमान परिस्थितिमा सरकारले कस्तो क्रान्तिकारी कदम चाल्दैछ भन्ने प्रश्न उठाएका छन्। साथै, २०७५ सालमा बारा–पर्सामा आएको भीषण आँधीपछि तत्कालीन सरकारले छोटो समयमा आवास निर्माण गरी प्रभावितहरूको पुनःस्थापना गरेको उदाहरण प्रस्तुत गरेका छन्।
पोखरेलले अहिले सरकारले नै सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई घरवारविहीन बनाएको आरोप लगाउँदै बर्खाअघि पुनःस्थापना नभए गम्भीर मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।
उनले सरकारलाई मानवता, जिम्मेवारी र दीगो समाधानतर्फ गम्भीर बन्न आग्रह गर्दै विस्थापित नागरिकको तत्काल पुनःस्थापनाका लागि प्रभावकारी कदम चाल्न दबाब दिएका छन्।

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more