धनुषा–३ मा मनिष झाको अभियान तीव्र : घरदैलो र पार्टी प्रवेशमा १५० बढी रास्वपामा समावेश

११ फागुन , जनकपुरधाम। — धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले घरदैलो अभियानसँगै पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएका छन्।
झाले जनकपुरधाम उपमहानगरपालिका–५ र ७ मा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका छन्। सोमबार विभिन्न वडामा पुगेर उनले स्थानीयसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए।
घरदैलोका क्रममा उनले विकास, सुशासन र पारदर्शितालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। पुरानै शैलीको राजनीतिले जनअपेक्षा पूरा गर्न नसकेको टिप्पणी गर्दै उनले परिवर्तनको एजेन्डा व्यवहारमै कार्यान्वयन गरिने दाबी गरे।
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, कृषि तथा साना व्यवसाय प्रवर्द्धन गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि कडा नीतिगत पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले खानेपानी समस्या, सडक स्तरोन्नति, फोहोर व्यवस्थापन तथा स्वास्थ्य सेवामा सहज पहुँचजस्ता विषय उठाएका थिए। झाले ती मुद्दालाई योजनाबद्ध ढंगले सम्बोधन गर्ने आश्वासन दिएका छन्।
यसैबीच सोमबार जनकपुरधाम उपमहानगरपालिका–२० नीम चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरी १५० भन्दा बढी नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई उम्मेदवार झाले स्वागत गरेका थिए।
भोलि मंगलबार मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नम्बर ४ अन्तर्गत फेच्छा–कोल्हुवा–खतबैया क्षेत्रमा तथा वडा नम्बर ३ तुलसियाहीमा दिनभरि घरदैलो कार्यक्रम तय गरिएको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more