निर्वाचन लक्षित निर्णय : फागुन १८–२१ गते भारतीय नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक

११ फागुन, जलेश्वर ।  — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वदलीय बैठक सम्पन्न भएको छ।
आइतबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकमा जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउँदै सरकारी स्रोत–साधनको दुरुपयोग नगर्ने सहमति गरेको छ।
मतदान प्रक्रियालाई व्यवस्थित, सुरक्षित र सहज बनाउन मतदान अधिकृत तथा कर्मचारीलाई आवश्यक सहजीकरण गर्ने, साथै उनीहरूलाई निष्पक्ष र भयरहित वातावरणमा जिम्मेवारी निर्वाह गर्न सबै निकायले सहयोग गर्ने निर्णय पनि गरिएको छ।
सीमावर्ती क्षेत्रमा हाल नेपाल प्रवेश गरेको मिथिला माध्यमिकी परिक्रमाका कारण दर्शनार्थीहरूको चाप बढ्ने अवस्थालाई दृष्टिगत गर्दै फागुन १८ भित्र सुरक्षित रूपमा फिर्ता हुने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जनाएको छ।
होली पर्वलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलतामा विशेष ध्यान दिन र पर्वलाई शान्तिपूर्ण तथा मर्यादित रूपमा मनाउन प्रशासनले सर्वसाधारणसँग आग्रह गरेको छ।
यसैबीच, निर्वाचन अवधिलाई लक्षित गर्दै फागुन १८ गतेदेखि २१ गतेसम्म भारतीय नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णयसमेत गरिएको छ। प्रशासनले उक्त अवधिमा सीमाक्षेत्रमा निगरानी र सुरक्षा व्यवस्थालाई थप कडाइ गर्ने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    Read more

    सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने

    Read more