कार्तिक १४, जनकपुरधाम। शिवराम झा ” गुड्डु”—– जनकपुरधाममा आगामी मंसिर ९ गते मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तयारी सुरु भएको छ। यसै सन्दर्भमा बिहीबार जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवको अगुवाइमा सम्पन्न बैठकमा यस वर्षको विवाहपञ्चमीलाई भव्य र सभ्य ढंगले मनाउन विविध तयारीका योजना प्रस्तुत गरिएका छन्। उनले विवाहपञ्चमीमा विभिन्न स्थानबाट पाहुनाहरु आउने भएकाले नगरवासीलाई सरसफाइमा लाग्न आग्रह गर्दै सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।
बैठकमा विभिन्न उपसमितिहरू गठन गरिएका छन्। शान्ति सुरक्षा, प्रचार–प्रसार, बजार व्यवस्थापन, रंगभूमीमा गेट पण्डाल व्यवस्था, यातायात, ट्राफिक तथा स्वास्थ्य उपचारजस्ता विषयमा अलग–अलग समितिहरू बनाइएका छन्। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले पनि विवाहपञ्चमीलाई सभ्य र भव्य बनाउन सबै जनकपुरवासीलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न अपिल गरेका छन्।
सर्वपक्षीय बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवर, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष शीतल प्रसाद साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाही, नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख सुनिल कुमार महतो, एनप्याब्सन जनकपुरका अध्यक्ष दीपक ठाकुरलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस वर्ष विवाह पञ्चमी महोत्सवको कार्यक्रमहरु
मंसिर ४ गत्ते नगर दर्शन
मंसिर ५ गत्ते फूलबारी लिला
मंसिर ६ गत्ते धनुष यज्ञ
मंसिर ७ गत्ते तिलकोत्सव
मंसिर ८ गत्ते मटकोर
मंसिर ९ गत्ते स्वयमवर तथा विवाहमहोत्सव
मंसिर १० गत्ते रामकलेवा
यति ठूलो धार्मिक र सांस्कृतिक पर्वलाई केवल जानकी मन्दिर परिसरमा सीमित राख्नु पर्याप्त देखिँदैन। विवाहपञ्चमी जनकपुरधामको आत्मा हो र यसको प्रभाव मन्दिरभित्र मात्र होइन, सम्पूर्ण सहरमा फैलिनु जरुरी छ। जनकपुरका ऐतिहासिक स्थलहरू मणिमण्डप लगायत अन्य क्षेत्रमा जसको आफ्नै धार्मिक र सांस्कृतिक महत्त्व छ। यी स्थानहरूमा पनि विवाहपञ्चमीसँग सम्बन्धित विविध कार्यक्रम राख्न सके, जनकपुरको सांस्कृतिक समृद्धि अझ व्यापक रुपमा उजागर हुनेछ। यसले देश–विदेशका पर्यटकहरूलाई आकर्षित गर्नेछ। यसले केवल धार्मिक महत्त्व होइन, आर्थिक र पर्यटनको गतिशीलता पनि ल्याउनेछ।
विवाहपञ्चमी महोत्सव जनकपुरधामको लागि धार्मिक श्रद्धासँगै आर्थिक अवसर पनि हो। प्रत्येक वर्ष हजारौं श्रद्धालु, साधु–सन्त र पर्यटकहरू भारतका विभिन्न भागबाट यहाँ आउँछन् यसको लागि सुरक्षा, सरसफाइ, ट्राफिक र स्वास्थ्य व्यवस्थापनमा अझ मजबुती आवश्यक छ। यसपटक बनाइएका उपसमितिहरूले त्यो जिम्मेवारी निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ।
विवाहपञ्चमी महोत्सव केवल पूजाको पर्व होइन, यो जनकपुरधामको इतिहास, पहिचान र सम्भावनाको प्रतीक हो। त्यसैले यसलाई जानकी मन्दिरका चार पर्खालभित्र सीमित नराखी मणिमण्डप लगायत अन्य ऐतिहासिक स्थलहरूसम्म विस्तार गर्न सके जनकपुरधामलाई धार्मिक मात्र होइन, सांस्कृतिक र आर्थिक दृष्टिले पनि सशक्त बनाउन सकिन्छ। यही हो जनकपुरको पुनर्जागरणको बाटो।
















