४ असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–८, रामानन्दचोकस्थित घरमा गएराति अचानक आगलागी हुँदा एक पूर्वशिक्षकको जलेर मृत्यु भएको छ।
आगलागीमा परी ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो। महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक रहेको जनाइएको छ।
स्थानीयका अनुसार राति अचानक घरमा आगलागी भएपछि सहनीले समयमै बाहिर निस्कन नसक्दा जलेर मृत्यु भएको हो। घटनाका क्रममा उनकी नातिनी भने घरबाट भागेर सुरक्षित रहेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















