खरेलको आरोप : मिडिया ट्रायल गरियो

२४ बैशाख , काठमाडौ । पूर्वसञ्चारमन्त्री जगदीश खरेल ले आफूविरुद्ध नियोजित रूपमा ‘मिडिया ट्रायल’ गरिएको आरोप लगाएका छन्। स्मार्ट टेलिकम प्रकरणसँग आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार प्रकाशित भएपछि उनले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खरेलले केही सञ्चारमाध्यमले नियोजित रूपमा ‘फेक न्युज’ फैलाएको दाबी गरेका छन्। उनले आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गरेका छन्।
खरेलले लेखेका छन्, “अहिले म माथि मिडिया ट्रायल भएको छ। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा फेक न्युज फैलाइएको छ। कृपया भ्रममा नपर्नु होला।”
पछिल्ला दिनमा स्मार्ट टेलिकमको लाइसेन्स, सम्पत्ति बिक्री तथा राज्यलाई तिर्नुपर्ने बक्यौतासम्बन्धी विषयमा विभिन्न निकायबाट अनुसन्धान भइरहेका बेला खरेलको नामसमेत चर्चामा आएको थियो। केही सञ्चारमाध्यमले उनी स्विजरल्याण्ड गएको विषयलाई समेत अनुसन्धानसँग जोडेर समाचार प्रकाशन गरेका थिए।
यसबारे स्पष्ट पार्दै खरेलले आफू हाल कार्यक्रमको सिलसिलामा Switzerland मा रहेको बताएका छन्। उनले आफूले कुनै गल्ती नगरेकाले डर वा तनाव नरहेको दाबी गरेका छन्।
“गल्ती गरेको छैन। त्यसैले अलिकति पनि डर छैन। सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ। मेरो इमान नै मेरो गन्तव्यका लागि पर्याप्त छ,” उनले भनेका छन्।
खरेलले आफ्नो चरित्र र राजनीतिक भविष्यमा प्रहार गर्ने उद्देश्यले कपोलकल्पित तथा नियोजित प्रचार गरिएको आरोपसमेत लगाएका छन्। उनले यस्ता गतिविधिविरुद्ध आवश्यक परे कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।
स्मार्ट टेलिकम प्रकरणबारे विभिन्न निकायबाट अनुसन्धान जारी रहेको बताइएको छ। यद्यपि, खरेलविरुद्ध हालसम्म औपचारिक रूपमा कुनै अभियोग दर्ता भएको सार्वजनिक जानकारी आएको छैन।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more