पुस ५, जनकपुरधाम। नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा भव्य रूपमा सुरू भएको छ। जनकपुरधाम जेसिजको आतिथ्यमा ऐतिहासिक तिरहुतियागाछीस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति भवनमा सुरू भएको महाधिवेशनमा देशभरका ७७ जिल्लाबाट आएका १ सय ७४ शाखाका करिब पाँच हजार युवाहरूको सहभागिता रहेको छ।
नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष रजनि थापाको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय जेसिजका उपाध्यक्ष तथा जापानका प्रख्यात एवं सफल व्यवसायी सुजुकी प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरूको सक्रिय सहभागितासहित सुरू भएको महाधिवेशनलाई ‘युवाहरूको महाकुम्भ’का रूपमा लिइएको छ।
महाधिवेशनअन्तर्गत नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व तथा दिगो विकासका विषयमा बहस, संवाद र अनुभव आदान–प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा नेपालका सफल युवा उद्यमीहरू, वन डढेलोसम्बन्धी विज्ञ तथा विभिन्न क्षेत्रका विशेषज्ञहरूले आफ्ना अनुभव र सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
उद्घाटन सत्रमा वक्ताहरूले युवाशक्तिलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा विकास गर्न उद्यमशीलता, सीप र नैतिक नेतृत्व अपरिहार्य रहेकोमा जोड दिएका थिए। उनीहरूले यस्ता महाधिवेशनहरूले युवामा व्यावसायिक क्षमता अभिवृद्धि, रोजगारी सिर्जना तथा समाजप्रति उत्तरदायी नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
मिथिला संस्कृतिको ऐतिहासिक भूमिमा आयोजना गरिएको महाधिवेशनले स्थानीय संस्कृति, पर्यटन र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन आगामी पुष ७ गते सन् २०२६ का लागि नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ। महाधिवेशनले संगठनको भावी कार्यदिशा तय गर्नुका साथै देशभरका युवाबीच नेटवर्क विस्तार, सहकार्य र साझा लक्ष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
















