कार्तिक ३०, जनकपुरधाम। विवाह पञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र साँस्कृतिकरूपमा मनाउन धनुषा जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्री–वितरण तथा पशुपक्षी काटन, मासु उत्पादन र बिक्रीमा अस्थायी प्रतिबन्ध लगाएको छ। प्रमुख जिल्ला अधिकारीले शुक्रबार जारी गरेको सूचनामा विवाह पञ्चमीको भीडभाड र धार्मिक संवेदनशीलता मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको उल्लेख छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार २०८२ कार्तिक २८ गते सुरक्षासम्बन्धी बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०८२/०९/०७ गते राति १२:०० बजेदेखि २०८२/०९/१० गते राति १२:०० बजेसम्म जनकपुरधाम उपमहानगरपालिकाको परिधिभित्र मदिरा बिक्री–वितरण, पशुपक्षी मारकाट, मासु उत्पादन तथा बिक्री पूर्णरूपमा निषेध गरिएको छ। साथै, निषेधित वस्तुको ढुवानी, भण्डारण र व्यापारसमेत रोक लगाइएको छ।
जिल्ला प्रशासनले धार्मिक एवं परम्परागत पर्वको पवित्रता कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ। सूचनामा उल्लेख भएअनुसार प्रतिबन्धित गतिविधि पाइएको खण्डमा कानूनअनुसार आवश्यक कारबाही हुने चेतावनी समेत दिइएको छ।विवाह पञ्चमीमा जनकपुरधाममा ठूलो संख्यामा भक्तजन, पर्यटक तथा श्रद्धालुहरूको आगमन हुने भएकाले सुरक्षाका दृष्टिले पनि प्रशासनले कडाइ बढाएको छ।
















