कार्तिक ३०, जनकपुरधाम। धनुषाको मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या गरिएको घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमका अनुसार घटनामा प्रत्यक्ष संलग्न आरोपितहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।
घटना शुक्रबार साँझ करिब पौने ७ बजे दुःखी यादवको मृत्यु संस्कारको १० दिन पुगेको अवसरमा आयोजित भोज ढिलो सुरु भएको विषयलाई लिएर प्रारम्भिक विवादसँगै सुरु भएको थियो। विवाद झगडामा परिवर्तन भएपछि स्थिति नियन्त्रणमा ल्याउन खटिएका जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत सहायक हवल्दार शम्भुकुमार यादव समेत संलग्न रहेको खुलेको छ।
आरोप अनुसार सहायक हवल्दार शम्भुकुमार यादवले कटुवा पेस्तोल प्रयोग गरी वडाध्यक्ष विन्देश्वर यादवको छातीमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका वडाध्यक्षलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले घटनामा संलग्न भन्दै सहायक हवल्दार शम्भु यादवसहित धर्मनाथ यादव, पप्पु यादव र मनोजकुमार यादवलाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट आवश्यक अवधि म्याद थप गरिएको डिएसपी बमले जानकारी दिए।प्रहरीले घटनाको गम्भीरता र सुरक्षा निकायका सदस्यकै संलग्नता देखिएको भन्दै विस्तृत छानबिन सुरु गरेको छ।
















