देउवा, दाहाल र खड्काको जलेको घरबाट फेला परेको ‘मुद्रा अवशेष’ — सम्पत्ति शुद्धीकरण छानबिन तीव्र

मंसिर १, काठमाडौ ।  जेनजी आन्दोलनका क्रममा जलेका नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता वसन्तमान खड्काका निजी आवासबाट संकलित खरानीको फरेन्सिक परीक्षणमा नेपाली तथा विदेशी मुद्राको अवशेष फेला परेको खुलेको छ।
फरेन्सिक परीक्षण सम्पन्न भएपछि छानबिन अधिकारीहरूले प्रारम्भिक नतिजा प्रधानमन्त्री सुशीला कार्की तथा अर्थमन्त्रीलाई ब्रीफिङ गरेको एक उच्च सरकारी स्रोतले जानकारी दिएको छ।

फरेन्सिक प्रयोगशालाले खरानी नमुनामा जलिसकेको नोटका कागज फाइबर, धातु मिश्रित सुरक्षा स्ट्रिप र विशेष रासायनिक अवशेष समेत भेटिएको जनाएको छ। यी अवशेष प्रायः उच्च मूल्यका नोटमा पाइने सुरक्षा तत्त्वसँग मेल खाने प्रकारका रहेको प्रारम्भिक निष्कर्ष आएको बताइन्छ। विभागका स्रोतका अनुसार, “संकलित नमुनाबाट ठूलो परिमाणमा नगद मौज्दात राखिएको आशंका बलियो बनेको छ।”

यसरी फेला परेको मुद्राको अवशेषले सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) सम्बन्धी सम्भावित अनुसन्धान अघि बढ्न सक्ने संकेत देखिएको छ। जेनजी आन्दोलनपछि राजनीतिक नेतृत्वविरुद्ध उठेका प्रश्नबीच यो फरेन्सिक नतिजा छानबिन प्रक्रियालाई थप सङ्गठित र कानुनी धरातलमा लैजाने आधारको रूपमा हेरिएको छ।

छानबिनमा खटिएको टोलीले घर जलेको स्थानबाट फोटो, भिडियो फुटेज, धातुका टुक्रा, जलिसकेका कागजात र इलेक्ट्रोनिक उपकरण समेत संकलन गरेको थियो। यी सामग्रीको प्राविधिक परीक्षण अझै जारी छ। विभागका अधिकारीका अनुसार, “फुटेज र डिजिटल डाटा विश्लेषणपछि रकमको प्रकृति, स्रोत र सम्भावित आर्थिक गतिविधि बारे थप स्पष्टता आउनेछ।”

सरकारले फरेन्सिक प्रतिवेदन प्राप्त भएसँगै सम्बन्धित निकायलाई वित्तीय विवरण, बैंक कारोबार, वैदेशिक मुद्राको भण्डारण र सम्पत्तिको वैधता जाँच गर्न निर्देशन दिने तयारी गरेको स्रोतले जनाएको छ।
अहिले राजनीतिक वृत्तमा यो घटनालाई जेनजी आन्दोलनपछिको सबैभन्दा संवेदनशील छानबिनको रूपमा हेरिएको छ, जसले मुलुकको उच्च राजनीतिक नेतृत्वसम्म कानुनी कारबाहीको दायरा पुग्नसक्ने आकलन गरिएको छ।विभागले भने औपचारिक टिप्पणी गर्न अस्वीकार गर्दै छानबिन पूरा नहुञ्जेल सबै सामग्रीको स्वतन्त्र र गोप्य परीक्षण जारी रहने बताएको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more