१८ असार , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाएको भन्ने विवादबारे स्पष्टीकरण दिँदै हालसम्म १ लाख ३३ हजार ३५३ सदस्यता आवेदनको नागरिकता प्रमाणीकरण प्रक्रिया अझै पूरा नभएको जनाएको छ। पार्टीले कानुनविपरीत सदस्यता स्वीकृत भएको भेटिए तत्काल खारेज गरिने स्पष्ट पारेको छ।
रास्वपाले जारी गरेको विज्ञप्तिअनुसार डिजिटल प्रणालीमा हालसम्म ५ लाख २३ हजार ४६५ सदस्यता आवेदन दर्ता भएका छन्। तीमध्ये ३ लाख ९० हजार ११२ जनाको नागरिकता तथा अन्य आधिकारिक कागजातका आधारमा प्रमाणीकरण सम्पन्न भइसकेको छ भने बाँकी १ लाख ३३ हजार ३५३ आवेदन प्रमाणीकरणकै चरणमा रहेका छन्।
पार्टीले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा पार्टी विधानअनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिक मात्रै सदस्य बन्न पाउने व्यवस्था रहेको उल्लेख गर्दै १८ वर्षमुनिका व्यक्तिलाई सदस्य बनाउने कुनै नीति वा अभ्यास नरहेको जनाएको छ।
रास्वपाका अनुसार सदस्यता आवेदनका क्रममा आवेदक स्वयंले विवरण भर्ने भएकाले वि.सं. र ई.सं. पात्रो छनोटमा भएको त्रुटि, जन्ममिति टाइप गर्दा भएको गल्ती वा जन्ममितिको स्थानमा हालको मिति राखिएका कारण केही आवेदकको उमेर प्रणालीमा वास्तविकभन्दा कम देखिएको प्रारम्भिक समीक्षाबाट खुलेको छ।
यस्ता त्रुटि सच्याउन सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरिएको र अबदेखि १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीले स्वतः रोक्ने व्यवस्था लागू गरिने पार्टीले जनाएको छ। साथै, प्रमाणीकरण भइसकेका अभिलेखको समेत पुनः परीक्षण गरी गल्तीवश १८ वर्षभन्दा कम उमेरका व्यक्तिको सदस्यता स्वीकृत भएको पाइए तत्काल खारेज गरिने उल्लेख गरिएको छ।
रास्वपाको पहिलो महाधिवेशनपछि सार्वजनिक भएको सदस्यता विवरणमा १८ वर्षमुनिका व्यक्तिहरूको नाम देखिएको विषयलाई लिएर राजनीतिक विवाद चर्किएको थियो। यस विषयमा कानुनी अनुसन्धान हुनुपर्ने मागसमेत उठिरहेको छ।

















