१८ असार , काठमाडौ । सरकारले शिक्षा नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यवस्थामा परिमार्जन गर्ने उद्देश्यसहित शिक्षा नियमावली (दशौँ संशोधन) अनुमोदन गर्ने निर्णय गरेको हो।
सरकारका अनुसार संशोधनमार्फत शिक्षा क्षेत्रका विद्यमान व्यवस्था समयानुकूल परिमार्जन तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। संशोधित नियमावलीका विस्तृत प्रावधान भने सार्वजनिक हुन बाँकी छन्।
यसअघि शिक्षा नियमावलीको नवौँ संशोधन २०७७ साल फागुन ३ गते स्वीकृत भएको थियो। त्यसको करिब पाँच वर्षपछि सरकारले दशौँ संशोधनलाई मन्त्रिपरिषद्बाट अनुमोदन गरेको हो।
सरकारले संशोधित नियमावली राजपत्रमा प्रकाशन भएपछि लागू हुने अपेक्षा गरिएको छ।


















