१७ असार, सप्तरी — सप्तरीमा आत्महत्या दुरुत्साहनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाइन नगरपालिका–४ सिलहट प्रसाही निवासी ४० वर्षीय रामेश्वर राम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोही स्थानकी सरस्वती राम असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको शव असार १३ गते बिहान करिब ६ बजे भेटिएको थियो।
घटनाको अनुसन्धानका क्रममा रामेश्वर रामले आफ्नै बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गर्ने गरेको र उक्त घटना गाउँमा सार्वजनिक भएपछि पंचायतमा बयान परिवर्तन गर्न दबाब दिएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले बयान नफेरे ज्यान मार्ने धम्कीसमेत दिएको अनुसन्धानबाट खुलेको छ। सोही धम्कीका कारण सरस्वती आत्महत्या गर्न बाध्य भएको आरोपमा रामेश्वरलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
स्थानीयवासीका अनुसार गाउँमा बसेको पंचायतले पीडित महिलालाई नै दबाब दिँदै घटना मिलाउन प्रयास गरेको थियो। पंचायतमा संलग्न केही व्यक्ति भने हाल फरार रहेका छन्।
बोदेबरसाइन नगरपालिका–४ का वडाध्यक्ष किरण साहले घटना भएको पुष्टि गर्दै अनुसन्धान जारी रहेकाले यस विषयमा तत्काल थप टिप्पणी गर्न नसकिने बताए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार पक्राउ परेका रामेश्वर राममाथि पाँच दिनको म्याद थप गरी आत्महत्या दुरुत्साहन मुद्दामा थप अनुसन्धान भइरहेको छ।

















