१८ असार, काठमाडौं — कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको फैसला कार्यान्वयनका क्रममा बिहीबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१८ कटान क्षेत्रबाट भण्डारीलाई पक्राउ गरिएको हो।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित समाचारमा गाली बेइज्जती गरेको अभियोगमा कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गरेको थियो।
न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने फैसला सुनाएको थियो।
निर्मला पन्त प्रकरणमा आफूलाई तथ्यहीन रूपमा जोडेर समाचार प्रकाशन गरिएको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए। किरण बिष्ट पनि पत्रकार हुन् र हाल राष्ट्रिय समाचार समितिमा कार्यरत छन्।
२०७५ साउन १० गते साथीको घरमा पढ्न गएको भन्दै घरबाट निस्किएकी निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिका अन्तर्गत निम्बुखेडा खोलाको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। उक्त घटनाका वास्तविक दोषी हालसम्म पहिचान हुन सकेका छैनन्।

















