शिक्षा मन्त्रालयको सल्लाहकारमा शैलेन्द्र झा नियुक्त

१७ असार , काठमाडौ ।  — शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शिक्षा, प्रविधि, सार्वजनिक नीति र शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव भएका शैलेन्द्र झालाई मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेको छ।
मन्त्रालयले झाको नियुक्तिलाई शिक्षा प्रणाली सुधार, नीतिगत विकास, युवा सशक्तीकरण तथा प्रविधिमैत्री शिक्षालाई प्रभावकारी रूपमा अघि बढाउने महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।
हाल झा अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ह्युबर्ट एच. हम्फ्रे फेलोसिप (२०२५–२६) अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा शिक्षा, नेतृत्व, सार्वजनिक नीति र सुशासनसम्बन्धी अध्ययन तथा अनुसन्धानमा संलग्न छन्।
यसअघि उनी काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यका रूपमा कार्यरत थिए। उनले ‘सीपमेला’, ‘बुक फ्रि फ्राइडे’, सिर्जनात्मक सिकाइ, शिक्षक क्षमता विकास, विद्यालय सौन्दर्यीकरण तथा प्राविधिक शिक्षासम्बन्धी विभिन्न कार्यक्रमको नेतृत्व गरेका थिए।
झाले टिचर्स फर नेपालमा करिब आठ वर्ष विभिन्न नेतृत्वदायी भूमिकामा रहेर शिक्षक छनोट, नेतृत्व विकास, मानव स्रोत व्यवस्थापन तथा संस्थागत रणनीति निर्माणमा योगदान दिएका छन्। उनी बीआईटीएस लिडर इन्टरनेशनल प्रालिका संस्थापक अध्यक्षसमेत हुन्।
जर्मनीबाट सूचना तथा सञ्चार इन्जिनियरिङ, फिलिपिन्सबाट विकास व्यवस्थापन र बंगलादेशबाट एप्लाइड इकोनोमिक्समा स्नातकोत्तर गरेका झाले शिक्षा सुधार, सार्वजनिक नीति, सुशासन र नेतृत्व विकासका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान र प्रकाशनसमेत गरेका छन्।
मन्त्रालयले झाको नियुक्तिसँगै विद्यालय शिक्षा सुधार, सीपमूलक शिक्षा विस्तार, डिजिटल शिक्षा, अनुसन्धानमा आधारित नीति निर्माण तथा शिक्षा क्षेत्रमा नवीन सोच र प्रभावकारी कार्यान्वयनले थप गति लिने अपेक्षा गरेको छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more