स्वास्थ्यमन्त्री गौतम र भारतीय राजदूत श्रीवास्तवबीच भेट, औषधी प्रयोगशाला स्तरोन्नतिमा भारतको सहयोग प्रतिबद्ध

मंसिर १२, काठमाडौ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव बीच शुक्रबार दिउँसो शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। मन्त्रीको सचिवालयका अनुसार मन्त्री गौतम र राजदूत श्रीवास्तवबीच शुक्रबार दिउँसो भेट भएको हो।

भेटका क्रममा दुई देशबीच ऐतिहासिक, गहिरो र अतुलनीय मित्रता रहेको चर्चा गर्दै स्वास्थ्य क्षेत्रको द्विपक्षीय सहकार्यलाई अझ दिगो, भरपर्दो र प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्री गौतमले स्वास्थ्य क्षेत्रमा भारतबाट प्राप्त निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल–भारत सम्बन्ध स्वास्थ्य सहकार्यमा समेत मजबुत आधार बनेको बताउनुभयो।

मन्त्री गौतमले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य सुधार, स्वास्थ्य बीमा प्रणाली सुदृढीकरण, राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि तथा प्रवासमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सुधार मन्त्रालयका प्रमुख प्राथमिकता रहेको उल्लेख गर्नुभयो।

राजदूत श्रीवास्तवले पनि भारत–नेपाल सम्बन्धको रणनीतिक र मानवीय महत्व दोहोर्‍याउँदै राष्ट्रिय औषधी प्रयोगशालाको स्तरोन्नतिका लागि भवन निर्माण, आवश्यक उपकरण आपूर्ति र जनशक्ति तालिममा भारतले सहयोग गर्न सक्ने बताउँदै यस विषयमा भारत सरकारको सहकार्य र समर्थन जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रयोगशाला सुदृढीकरणका लागि प्राविधिक उपकरण तथा दक्ष जनशक्ति तालिममा सहजीकरण गर्न तयार रहेको प्रष्ट पार्नुभयो।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more