कार्तिक १५ , काठमाडौ । — ‘पहिला देश (पिपुल्स रेभुलेसन) अभियान’ ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सिडिओलाई पक्राउ नगरेको विरोधमा कार्तिक १६ गते आइतबार माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेको छ।
शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै अभियानका प्रतिनिधिहरूले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत माग गरेका छन्। उनीहरूले जेन–जी आन्दोलनका माग र मर्म अनुसार सरकारले काम नगरेको आरोप लगाएका छन्।
अभियानका डा. निकोलश भुसालले जेन–जी आन्दोलन सुशासन, भ्रष्टाचार नियन्त्रण र कार्यकारी प्रमुखको चयनका लागि भएको बताउँदै, “तर वर्तमान सरकार उल्टो दिशामा गएको छ,” भने। उनका अनुसार ओली र लेखकले जेनजी आन्दोलनमाथि दमन गर्ने आदेश दिए पनि सरकारले उनीहरूलाई पक्राउ गरी अनुसन्धान नगरेकोले आन्दोलनमा फर्किन बाध्य हुनुपरेको हो।
अभियानका संयोजक एसपी शाहले आइतबारको प्रदर्शनमा जेन–जी, लघुवित्त, सहकारी, मिटर ब्याज र बैंकका पीडितहरू संयुक्तरूपमा सहभागी हुने बताए। उनका अनुसार ठूला बलिदानबाट बनेको सरकार पनि पुरानै प्रणाली र भ्रष्ट समूहको संरक्षक बनेकोले अब यसको विकल्प खोजिनुपर्ने बेला आएको छ।
‘पहिला देश’का संरक्षक तथा लघुवित्त पीडित सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले वर्तमान सरकार पनि पूर्व प्रधानमन्त्री ओलीको सरकारले गरेका गल्ती दोहोर्याइरहेको आरोप लगाए। उनले संविधान संशोधन र आर्थिक शोषण अन्त्यका लागि विशेष वित्तीय ऐन खारेज गर्नुपर्ने माग गरे। ज्ञवालीका अनुसार त्यसको मुख्य अवरोध राष्ट्र बैंक स्वयं बनेको छ।
त्यस्तै, जेन–जी अभियन्ता रविकिरण हमालले आन्दोलन “हाइज्याक” भएको आरोप लगाउँदै भने, “जेन–जी आन्दोलनका शहीद र घाइतेहरू अपमानित भएका छन्, जबकि यसको फाइदा गलत हातमा गएको छ।” उनले प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई “असफल र दिशाहीन” भन्दै तत्काल विस्थापनको माग गरे।
















