देशका मध्य र पूर्वी भूभागमा झरी लम्बियो, अझै केही घण्टा रहने सम्भावना

कार्तिक १५, काठमाडौं।— काठमाडौंसहित देशका मध्य र पूर्वी भूभागमा झरी अझै लम्बिएको छ। मौसमविद्हरूका अनुसार बागमती, गण्डकी र तराईका जिल्लाहरूमा आज बिहानसम्म मौसम खुल्ने अपेक्षा गरिएको भए पनि, विभिन्न वायुमण्डलीय प्रणालीहरूको मिश्रणका कारण झरी जारी छ।

मौसमी पूर्वानुमानका तीनवटा मोडेलको संयुक्त अध्ययनले देखाएको अनुसार, पछिल्ला केही दिनदेखि सक्रिय रहेको पश्चिमी वायु र कमजोर मोन्था आँधी एक आपसमा मिसिएर ठूलो संयुक्त प्रणाली बनेको छ, जसले नेपालका मध्य तथा पूर्वी भूभागमा लगातार वर्षा गराइरहेको छ।

यो प्रणाली हिजो रातिसम्म कोशी हुँदै बंगालको खाडीतर्फ सर्ने अपेक्षा गरिएको थियो। तर बंगालको खाडी नजिकै थाइल्याण्डको दक्षिणी भूभागमा बनेर अहिले बाङ्ग्लादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीले यसलाई उल्टो दिशामा धकेलेपछि यो नेपालतर्फ स्थिर रह्यो।

यससँगै अरब सागरबाट अर्को सक्रिय प्रणाली गुजरात–राजस्थान हुँदै उत्तर–पूर्वतर्फ अगाडि बढिरहेको छ। यसले पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायु नेपालतर्फ ल्याइरहेको हुँदा वर्षा गराउने बादलहरूको ठूलो समूह अहिले गण्डकी, बागमती र कोशी क्षेत्रमा स्थिर अवस्थामा छ।

हावामा जलवाष्पको मात्रा अत्यधिक भएकाले वर्षा रोकिएको बेला पनि शीत परे जस्तो मसिना पानीका कण झरिरहेका छन्।

मौसमविद्हरूका अनुसार, अहिलेको अवस्थाले ठूला वर्षा र बाढीको जोखिम भने न्यून देखिएको छ। अब वर्षा क्रमशः कमजोर हुँदै जाने र आगामी १२ घण्टाभित्र मौसममा उल्लेख्य सुधार आउने सम्भावना रहेको बताइएको छ।

साँझसम्म अधिकांश क्षेत्रमा वर्षा पूर्ण रूपमा रोकिने र भोली बिहानदेखि घाम लाग्ने सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more