पुस २३, काठमाडौ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सरकारले १ लाख ३३ हजार ९ सय ८० म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार म्यादी प्रहरी नियुक्त गर्न लागिएको हो।
नेपाल प्रहरीका अनुसार इच्छुक नेपाली नागरिकले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन्। भर्ना प्रक्रियामा पूर्व नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिहरूलाई पनि सहभागी हुन अनुमति दिइएको छ। साथै अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरिसकेका, सुरक्षा निकायमा आवेदन दिइसकेका तथा विदेशी फौजमा सेवा गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने जनाइएको छ।
भर्नाका लागि तोकिएको मापदण्डअनुसार पुरुषको न्यूनतम उचाइ ५ फिट र महिलाको ४ फिट १० इन्च हुनुपर्नेछ। महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने प्रावधान पनि राखिएको छ।
नेपाल प्रहरीका अनुसार छनोट प्रक्रिया माघ ९ गतेभित्र सम्पन्न गरिनेछ भने माघ १५ गतेदेखि म्यादी प्रहरीको तालिम सुरु गरिनेछ। निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित म्यादी प्रहरी भर्नालाई सरकारको महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ।

















