१९ असार , काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका नाममा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र लोकतन्त्रजस्ता संविधानका आधारभूत विशेषतालाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्।
शुक्रबार संविधान संशोधनसम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्दै यादवले संविधानका उपलब्धिमाथि आँच पुर्याउने प्रयास भए त्यसको सशक्त प्रतिरोध हुने चेतावनी दिएका छन्। उनले त्यस्तो प्रयासले मुलुकलाई पुनः जातीय तथा क्षेत्रीय द्वन्द्व र अशान्तितर्फ धकेल्न सक्ने उल्लेख गरे।
यादवले नेपाली जनताको दशकौँ लामो जनसंघर्ष, जनआन्दोलन, सशस्त्र संघर्ष, ऐतिहासिक मधेश जनविद्रोह तथा त्याग र बलिदानको जगमा संविधानसभाबाट जारी भएको नेपालको संविधान–२०७२ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई राज्यको मूल संरचनाका रूपमा स्थापित गरेको बताए।
उनले संविधानको धारा २७४ ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्ताविपरीत हुने गरी संविधान संशोधन गर्न नसकिने स्पष्ट व्यवस्था गरेको स्मरण गराए।
यादवका अनुसार जनतामा निहित सार्वभौमसत्ता, संविधानको सर्वोच्चता, कानुनी शासन, शक्तिको पृथकीकरण, स्वतन्त्र न्यायपालिका, मौलिक तथा मानव अधिकार, समानुपातिक समावेशीता, सामाजिक न्याय, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचानको संरक्षण, राष्ट्रिय एकता, सङ्घीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, धर्मनिरपेक्षता, बहुदलीय लोकतन्त्र र गणतन्त्र संविधानका असल र आधारभूत विशेषता हुन्। यी विशेषता समाप्त हुने गरी कुनै पनि संशोधन गर्न नहुने उनको धारणा छ।
उनले वर्तमान अवस्थामा राजनीतिक दल र सरकारले संविधानका उपलब्धिलाई संरक्षण र संस्थागत गर्दै स्वतन्त्रता, समानता, सुशासन, विकास, समृद्धि तथा सामाजिक न्यायको लक्ष्य प्राप्तिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
यादवले संविधानका मूलभूत संरचनालाई संरक्षण गर्ने अभ्यास विश्वका विभिन्न लोकतान्त्रिक मुलुकमा पनि रहेको उल्लेख गर्दै संयुक्त राज्य अमेरिकामा प्रत्येक राज्यको सिनेटमा समान प्रतिनिधित्व, जर्मनीमा मानव मर्यादा, सङ्घीय संरचना, कानुनी शासन र लोकतान्त्रिक सामाजिक राज्यलाई असंशोधनीय बनाइएको तथा फ्रान्स र इटलीमा गणतन्त्रात्मक शासन प्रणाली परिवर्तन गर्न नपाइने संवैधानिक व्यवस्था रहेको उदाहरण प्रस्तुत गरेका छन्।

















