१९ असार, जनकपुरधाम — नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई अदालतको आदेशपछि कैद भुक्तानका लागि जलेश्वर कारागार पठाइएको छ।
महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उपस्थित गराइएको थियो। त्यसपछि अदालतको आदेशअनुसार उनलाई जलेश्वर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेले जानकारी दिए।
दोस्रो मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले महतोलाई सफाइ दिएको थियो। तर, उच्च अदालत जनकपुरले बुधबार उक्त फैसला उल्टाउँदै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
उच्च अदालतको फैसला आएलगत्तै प्रहरीले महतोलाई महोत्तरीको गौशालाबाट पक्राउ गरेको थियो।

















