पुस ६, जनकपुरधाम। मधेश प्रदेशसभाको सभामुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार सम्पन्न प्रदेशसभा बैठकमा बहुमत प्राप्त गर्दै यादव सभामुखमा निर्वाचित भएका हुन्।
प्रदेशसभा बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित थिए। मतदानका क्रममा यादवले ७२ मत प्राप्त गर्दा उनको विपक्षमा २४ मत परेको थियो।
पहिलो प्रस्तावमाथि मत विभाजन भएर यादव निर्वाचित भएपछि नेकपा एमालेका तर्फबाट त्रिलोकी प्रसादलाई सभामुख बनाउने गरी दर्ता भएको प्रस्ताव स्वतः खारेज भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
नव निर्वाचित सभामुख यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भएका हुन्। उनी यसअघि पनि प्रदेशसभा सदस्य रहिसकेका अनुभवी राजनीतिज्ञ हुन्।सभामुख निर्वाचित भएसँगै प्रदेशसभाको आगामी कार्यसूची र संसदीय गतिविधि थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

















