मंसिर १,ढाका, बंगलादेश —बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। २०२४ को विद्यार्थी आन्दोलन दमनका क्रममा चरम मानवअधिकार उल्लङ्घन, हत्या, यातना र योजनाबद्ध दमन अभियानका आरोपहरू प्रमाणित भएको अदालतले ठहर गरेको हो।
न्यायाधीशहरूको तीन सदस्यीय इजलासले सुनाएको फैसला अनुसार हसिनाले प्रदर्शनकारीहरूमाथि सामूहिक गोलीप्रहार, क्रूर दमन, अवैध हिरासतजस्ता आदेशहरू जारी गरेको निष्कर्षमा अदालत पुगेको छ। अभियोजन पक्षले हसिनालाई “राज्य संयन्त्र प्रयोग गरी जनताका विरुद्ध आतंक फैलाउने नेतृत्वकर्ता”का रूपमा चित्रण गर्दै कडा सजाय माग गरेको थियो।
शेख हसिना भने अनुपस्थितमै मुद्दा चलेको थियो। उनी जुलाई २०२४ मा सत्ता फालिएपछि देश छोडेर भागेकी थिइन्। उनको वकिलहरू र समर्थकहरूले यो फैसलालाई राजनीतिक प्रतिशोध र पूर्वनियोजित कारबाही भएको बताउँदै अदालतको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।
ढाका र अन्य प्रमुख शहरमा अदालतको फैसलापछि सुरक्षा कडा पारिएको छ। निर्णय सार्वजनिक भएलगत्तै केही स्थानमा हसिनाका समर्थकले प्रदर्शन गरेका छन् भने अन्तरिम सरकारले शान्ति–व्यवस्था बिथोलिने संकेत मिलेकाले सतर्कता बढाएको छ।
अदालतले हसिनासँगै अभियोग लागेका अर्का पूर्व मन्त्री र सुरक्षाकर्मीहरूमाथि पनि छुट्टाछुट्टै कारबाही गरेको छ। तर मुख्य अभियुक्तका रूपमा शेख हसिनामाथि लागेको मानवता विरुद्धको अपराध बंगलादेशको राजनीतिक इतिहासकै ठूलो मुद्दा मानिएको छ।
यो फैसलाले बंगलादेशको आगामी राजनीतिक स्थिरता, सत्ता संक्रमण र लोकतान्त्रिक प्रक्रियामा ठूलो प्रभाव पार्ने देखिन्छ। आगामी दिनमा फैसला विरुद्ध थप कानुनी चुनौती तथा अन्तर्राष्ट्रिय प्रतिक्रिया आउने सम्भावना प्रवल देखिएको छ।
















