नेपालमा नोटबन्दीबारे बहस सुरु, नोटबन्दीले मात्र भ्रष्टाचार अन्त्य हुनेमा वक्ताको जोड

काठमाडौं। नेपालमा फैलिँदै गएको भ्रष्टाचार, बेथिति र अनियमितताले सीमा नाघेको भन्दै अहिले देशभर नोटबन्दीबारे बहस, तर्क–वितर्क र छलफल तीव्र बनेको छ। यही विषयमा ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’ शीर्षकमा काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल–भारत वर्ल्ड डेभलपमेन्ट फोरमद्वारा शनिबार आयोजित उक्त कार्यक्रममा अर्थविद्, बुद्धिजीवी, युवा राजनीतिकर्मी तथा बौद्धिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता थियो।

कार्यक्रमका वक्ताहरुले नेपालमा नोटबन्दीबारे मिश्रित मत व्यक्त गरे। केही अर्थविद्हरुले नेपालमा नोटबन्दी आवश्यक र औचित्यपूर्ण रहेको तर्क गर्दै यसले वित्तीय प्रणालीमा पारदर्शिता ल्याउने विश्वास व्यक्त गरे। तर, कतिपयले भने यो नेपालका लागि घातक हुन सक्ने चेतावनीसमेत दिए।

राष्ट्रिय पिछडावर्ग (ओबीसी) महासंघका अध्यक्ष कौशल कुमार सिंहले उक्त कार्यक्रममा ‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नोटबन्दीले वित्तीय समावेशीकरणमार्फत सशक्तिकरणको अवसर सिर्जना गर्ने बताए। उनले अल्पकालमा चुनौती भए पनि दीर्घकालमा यसको सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे।

उनको भनाइमा, नोटबन्दी आफैंमा राम्रो वा खराब होइन, तर नेपालको वर्तमान सन्दर्भमा यसको आवश्यकता र सान्दर्भिकता गम्भीर रुपमा मूल्याङ्कन गर्नुपर्नेछ।

अर्थविद् प्रा. नरबहादुर थापाले भने नोटबन्दी नेपालको आर्थिक अवस्था र संरचनाका लागि उपयुक्त नहुने तर्क गरे। उनका अनुसार, यदि नेपालमा नोटबन्दी लागू गरियो भने हालैको ‘जेन्जी आन्दोलन’ भन्दा पनि गम्भीर संकट निम्तिन सक्छ।

उनले भने, “जेन्जी आन्दोलनले राज्यलाई हल्लायो, तर नोटबन्दी आयो भने त्यसले देशलाई झन् विकराल अवस्थातर्फ धकेल्नेछ। नोटबन्दीले समस्या समाधान होइन, झन् जटिलता निम्त्याउँछ।”

थापाले नोटबन्दी सफल बनाउन बलियो सरकार र सशक्त निकाय आवश्यक पर्ने बताउँदै अहिलेको कमजोर शासन प्रणालीमा यस्तो कदम ‘ब्याकफायर’ हुनसक्ने चेतावनी दिए।

सर्वोच्च अदालतका अधिवक्ता डा. जयमंगल प्रसाद जयसवालले नोटबन्दीबारे सुरु भएको बहस सकारात्मक रहेको बताए। उनका अनुसार, यस विषयमा गहिरो अनुसन्धान र अध्ययन आवश्यक छ।

कार्यक्रमको अध्यक्षता नेपाल–भारत वर्ल्ड डेभलपमेन्ट फोरमका अध्यक्ष मधुरेन्द्र चौधरीले गर्दै, नोटबन्दीले कालो धन नियन्त्रण, भ्रष्टाचार निवारण, नक्कली नोट नियन्त्रण र मुद्रास्फीति नियन्त्रणमा प्रभाव पार्न सक्ने उल्लेख गरे। साथै, उनले विश्वका विभिन्न देशमा भएका नोटबन्दीका अनुभव र त्यसका परिणामबारे पनि जानकारी दिए।

कार्यक्रममा विजय महासेठ, जितन यादव, दीपक गुप्ता, नरेन्द्र पासवान, प्रा. रामप्रताप यादव, पूर्व प्रहरी उपरीक्षक हजारीलाल जयसवाल, अर्थविद् डा. गोपिनाथ न्यौपाने, युवा नेता महेश कलवार लगायतका वक्ताहरुले आ–आफ्ना विचार प्रस्तुत गरेका थिए।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more