निर्वाचन आचारसंहिता कडाइका साथ लागू : सामाजिक सञ्जालमा उल्लंघन गरे कडा कारबाही हुने

पुस १३, काठमाडौ ।— निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कडा व्यवस्था सहित निर्वाचन आचारसंहिता लागू गरेको छ। आचारसंहिताअनुसार सामाजिक सञ्जालमार्फत निर्वाचन प्रक्रियालाई प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि गरे कडा कारबाही हुने आयोगले स्पष्ट गरेको छ।
आचारसंहितामा सामाजिक सञ्जाल प्रयोग गर्दा कसैको पक्ष वा विपक्षमा निर्वाचनलाई प्रभावित गर्ने गरी प्रचार–प्रसार गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै, गलत, भ्रामक वा झुटा सूचना प्रवाह गर्ने उद्देश्यले फेक अकाउन्ट (नक्कली खाता) सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
निर्वाचन आचारसंहिताअनुसार कुनै पनि उम्मेदवार वा व्यक्तिको चरित्र हत्या हुने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट वा सेयर गर्न पाइने छैन। यस्ता सामग्रीले निर्वाचनको वातावरण बिगार्ने भन्दै आयोगले निगरानी बढाएको जनाएको छ।
आयोगले उम्मेदवारलाई आफ्नो एजेण्डा, धारणा तथा कार्यक्रम सार्वजनिक गर्दा अनिवार्य रूपमा आफ्नै आधिकारिक सामाजिक सञ्जाल पेज वा खातामार्फत मात्र गर्नुपर्ने व्यवस्था गरेको छ। अनधिकृत पेज, समूह वा तेस्रो पक्षमार्फत प्रचार–प्रसार गरेमा त्यसलाई आचारसंहिता उल्लंघन मानिनेछ।
निर्वाचन आयोगका अनुसार सामाजिक सञ्जालमार्फत हुने गतिविधिको अनुगमन निरन्तर भइरहेको छ। आचारसंहिता उल्लंघन भएको पाइएमा प्रचलित कानुनअनुसार चेतावनीदेखि जरिवाना र अन्य कानुनी कारबाहीसम्म हुन सक्ने जनाएको छ।
आयोगले सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा आम नागरिकलाई निर्वाचन आचारसंहिता पालना गरी जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more