प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फ बन्द सूची पेस गर्न दलहरूको चहलपहल

पुस १३, काठमाडौ । — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची पेस गर्न सुरु गरेका छन्।
निर्वाचन आयोगका अनुसार आइतबार साँझ ७ बजेसम्म दुई राजनीतिक दलले समानुपातिकतर्फको बन्द सूची आयोगमा पेस गरिसकेका छन् भने अर्को एक दल सूची दर्ताको प्रक्रियामा रहेको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले लोकान्तरलाई जानकारी दिँदै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र नेपाल लोकतान्त्रिक पार्टीले बन्द सूची पेस गरिसकेको तथा राष्ट्रिय जनमोर्चा प्रक्रियामा रहेको बताए।
प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले पुस १३ र १४ गते समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची पेस गर्ने समय तोकेको छ। आयोगले बिहान ८ बजेदेखि राति ८ बजेसम्म बन्द सूची दर्ता गर्ने व्यवस्था मिलाएको जनाएको छ।
आयोगका अनुसार प्रत्येक राजनीतिक दलले क्लस्टर मिलाएर अधिकतम ११० जनासम्मको नाम समानुपातिक बन्द सूचीमा पेस गर्न सक्नेछन्। समानुपातिक निर्वाचन प्रयोजनका लागि आयोगमा हाल ९३ वटा निर्वाचन चिन्हसहित १ सय राजनीतिक दल दर्ता भएका छन्।
निर्वाचन तालिका अनुसार आगामी दिनमा बाँकी दलहरूले पनि आफ्नो बन्द सूची पेस गर्ने क्रम तीव्र हुने आयोगको अपेक्षा छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरीको कप्तानगञ्ज घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

    Read more

    श्रावण २३ मा ‘अग्रगामी मोर्चा’ घोषणा गरिने, विभिन्न सात दलको सहभागिता रहने

    Read more