दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा–अर्चना हुँदै

असोज १०, जनकपुरधाम।  बडादसैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–अर्चना गरी मनाइँदैछ । नौ दुर्गामध्येकी पाँचौँ देवीका रूपमा स्कन्दमाताको विशेष आराधना गर्ने परम्परा रहिआएको छ ।

स्कन्दमाता भगवान् कार्तिकेय (स्कन्द) की आमा भएकी कारण उनलाई स्कन्दमाता भनिएको हो । शास्त्रीय मान्यताअनुसार, शान्ति, मोक्ष तथा दिव्य ज्ञान प्रदान गर्ने शक्तिस्वरूप स्कन्दमाताको आज विशेष पूजा आराधना गरिँदैछ । भक्तजनहरूले बिहानै स्नान गरी व्रत बस्ने, देवीको प्रतिमा वा तस्वीरमा दुग्ध, अक्षता, पुष्प, धूप–दीप अर्पण गर्ने परम्परा अनुसरण गरेका छन् ।

स्कन्दमातालाई श्वेतवर्णी, कमलासनमा विराजमान र चार हातमा कमलपुष्प तथा एउटा हातमा कार्तिकेयलाई अङ्कमा राखेको रूपमा चित्रण गरिन्छ । देवीलाई कमलको प्रतीकका रूपमा पनि मानिन्छ, त्यसैले आजका दिन भक्तजनले विशेष गरी कमलका फूल अर्पण गर्ने चलन रहेको छ ।

नवरात्रका अन्य दिनझैँ आज पनि मन्दिरहरूमा भक्तजनहरूको भिड लागेको छ । जनकपुरधामको राजदेवी मन्दिर, बौधी मन्दिर लगायत दुर्गा मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूको भीड देखिएको छ । घर–घरमा पनि देवीको विधिपूर्वक पूजन आराधना गरिँदैछ ।

धार्मिक विश्वासअनुसार आज स्कन्दमाताको पूजा गर्नेले कठिनाइ र रोग–व्याधिबाट मुक्ति पाउने, परिवारमा सुख–समृद्धि तथा शान्ति कायम हुने र आध्यात्मिक उन्नति प्राप्त हुने जनविश्वास छ ।यससँगै नवरात्रको पाँचौँ दिन घरघरमा दुर्गा सप्तशती, देवीभागवत र चण्डी पाठ गर्ने, देवी भजन–कीर्तन गर्ने परम्परा पनि पालना भइरहेको छ ।

 

 

  • सम्बन्धित समाचारहरु

    चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

    Read more

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more