असोज ९, काठमाडौ । अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ साल फागुन २१ गते भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न हुने दाबी गरेकी छिन्।
उनले राजनीतिक दल, मतदाता र सम्पूर्ण निकायलाई लोकतान्त्रिक प्रक्रियामा आस्था राखी चुनावी तयारी गर्न आह्वान गरिन्। “हामीले तोकेको मितिभित्र निष्पक्ष र सर्वसाधारणले स्वतन्त्र रूपले मत खसाल्न पाउने वातावरण सिर्जना गर्नेछौँ,” प्रधानमन्त्री कार्कीले भनिन्।
यस्तै, उनले प्रत्यक्ष निर्वाचन प्रणाली, संघीयताको स्वरूप र संरचना जस्ता संवैधानिक तथा नीतिगत विषयहरू यस सरकारको कार्यक्षेत्रमा नपर्ने प्रष्ट पारिन्। उनका अनुसार यस्ता गहन निर्णयहरू आगामी निर्वाचनपछि निर्वाचित संसदले गर्नेछ।
अन्तरिम सरकारको प्राथमिक जिम्मेवारी निर्वाचन सम्पन्न गर्ने र जनताले निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने भएको उनले स्मरण गराइन्।
















