मंसिर १२, काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायु सेवा निगमका दुई वरिष्ठ क्याप्टेन विजय लामा र सोनी राणालाई सक्रिय जिम्मेवारीबाट निलम्बन गरेको छ। उडान सुरक्षासम्बन्धी नियम तथा अंतर्राष्ट्रिय हवाइ सुरक्षा मापदण्डको उल्लङ्घन गरेको ठहर गर्दै दुबै पाइलटमाथि उडान रोक लगाइएको क्यानले जनाएको छ।
क्यानका डेपुटी म्यानेजर ज्ञानेन्द्र भुलका अनुसार जहाजभित्र फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विषयलाई गम्भीर मान्दै प्रारम्भिक स्पष्टीकरण माग गरिएको छ। “उडान सुरक्षा राष्ट्रिय र अंतर्राष्ट्रिय दुवै संवेदनशील विषय हो, त्यसैले नियमविपरीत सार्वजनिक गरिएका सामग्रीलाई अनुसन्धानको दायरामा ल्याइएको छ र छानबिन नसकिँदासम्म उडानमा पूर्ण रोक लगाइएको छ,” भुलले जानकारी दिनुभयो।
अब नेपाल वायु सेवा निगमले विस्तृत छानबिन प्रतिवेदन तयार पारी क्यान समक्ष बुझाएपछि मात्र निलम्बन फुकुवा गर्ने वा जिम्मेवारीबाट स्थायी रूपमा हटाउने सम्बन्धी अन्तिम निर्णय हुने क्यानले स्पष्ट पारेको छ।
कलाकार तथा सामाजिक सञ्जाल भ्लगरका रूपमा समेत परिचित क्याप्टेन विजय लामा यसअघि पनि यस्तै विषयमा पटक–पटक विवाद तथा कारबाहीमा परेका व्यक्ति हुनुहुन्छ। क्यानले विगतमा २०८१ जेठ र २०७६ बैशाखमा पनि स्पष्टीकरण सोध्दै अस्थायी निलम्बन गरेको थियो। त्यसबेला लामाले लिखित जवाफ पेस गरेपछि निलम्बन फुकुवा भएको क्यान रेकर्डमा उल्लेख छ।
लामाले आफ्नो उडान अनुभव तथा जहाजभित्रका गतिविधि समेटेर भ्लग बनाउँदै सार्वजनिक गर्दै आउनुभएको थियो, जसलाई हवाइ सुरक्षा नियमसँग बाझिएको भन्दै पटक–पटक प्रश्न उठ्दै आएको छ।
यसैबीच पछिल्लो समय सुशीला कार्की नेतृत्वको सरकार गठनसँगै लामालाई पर्यटन मन्त्री बनाउनुपर्ने राजनीतिक वृत्तमा चर्चा चुलिँदै गइरहेको अवस्थामा पुनः निलम्बन भएको घटनाले थप बहस तातेको छ। यद्यपि क्यानले यसलाई विशुद्ध हवाइ सुरक्षा नियम उल्लङ्घनको अनुसन्धानसँग मात्र जोडिएको प्रष्टीकरण दिएको छ।
दुई प्रमुख क्याप्टेन नै निलम्बनमा परेपछि नेपाल वायु सेवा निगमको उडान तालिका तथा पाइलट व्यवस्थापनमा प्रभाव पर्ने देखिएको छ। छानबिन पूरा नहुन्जेल उडान अनुमति पूर्ण रोक्का भएकाले दुबै क्याप्टेनको पेशागत भविष्य अहिले अनिश्चित बनेको छ।
















