कञ्चन बिच्छा निष्कासन, मधेश प्रदेश राजनीतिमा तरङ्ग

मंसिर १२, जनकपुरधाम। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मधेश प्रदेशकी सांसद कञ्चन बिच्छालाई पार्टीबाट निष्कासन गर्नुभएको छ। मधेश प्रदेशमा नेकपा (एमाले) का नेता सरोज यादवलाई मुख्यमन्त्रीका रूपमा समर्थन जनाएपछि पार्टी निर्णय र शिस्त विपरीत गतिविधि गरेको आरोपमा बिच्छालाई कारबाही स्वरूप निष्कासन गरिएको हो।

पार्टी नेतृत्वका अनुसार सांसद बिच्छाले गठबन्धन तथा मुख्यमन्त्री समर्थनका विषयमा पार्टीले औपचारिक रूपमा तय गरेको मार्गदर्शनको उल्लङ्घन गर्नुभएको थियो। यस घटनापछि राप्रपाले उहाँसँग लिखित स्पष्टीकरण मागेको थियो। तर प्राप्त स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएपछि अध्यक्ष लिङदेनले तत्काल प्रभावबाट लागू हुने गरी सांसद बिच्छालाई पार्टीबाट निष्कासन गरिएको घोषणा गर्नुभएको राप्रपा स्रोतले जनाएको छ।

“पार्टी अनुशासन कुनै सम्झौताको विषय होइन। प्रदेश राजनीतिको संवेदनशील मोडमा पार्टी निर्णय विपरीत गरिएका कदमले संस्थागत मर्यादा र कार्यदिशालाई चोट पुर्याउँछ,” अध्यक्ष लिङदेनको भनाइ उद्धृत गर्दै पार्टी निकट स्रोतले बताएको छ।

सांसद बिच्छाको निष्कासनसँगै मधेश प्रदेश राजनीतिमा नयाँ तरङ्ग सिर्जना भएको छ। एमाले नेता सरोज यादवलाई मुख्यमन्त्रीमा समर्थन दिने निर्णयलाई लिएर समीकरण, पार्टी अनुशासन र प्रदेश सत्ता रणनीतिमाथि बहस चर्किन थालेको छ। राजनीतिक विश्लेषकहरू यस कारबाहीलाई साना दलभित्र बढ्दो आन्तरिक विचलन र सत्ता सहकार्य चुनौतीको संकेतका रूपमा व्याख्या गरिरहेका छन्।

अध्यक्ष लिङदेनद्वारा जारी कारबाही निर्णयपछि राप्रपा मधेश प्रदेश संसदीय दलमा देखिएका असन्तुलन तथा राजनीतिक मतभिन्नता थप उजागर भएको छ। एमाले समर्थनमा निर्माण हुन लागेकाे प्रदेश सत्ता समीकरणमा राप्रपाको आधिकारिक लाइन के रहने भन्ने विषय अब पार्टीभित्र थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएको छ।

सांसद कञ्चन बिच्छाले भने निष्कासनपछिकाे आधिकारिक प्रतिक्रिया सार्वजनिक गर्नुभएको छैन। उहाँको निष्कासनले मधेश प्रदेशसभामा दलीय गणित तथा आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more