माघ १०, काठमाडौ । — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई “सुन तस्करझैं चेकिङ” गरिएको आरोप लगाएका छन्।
ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, “आज काठमाडौं आउने क्रममा एयरपोर्टमा मलाई सुन तस्कर झैं चेकिङ गर्यो। किन गरेको भन्दा ‘माथिको आदेश’ भन्यो। यो धेरै ठूलो कुरा त मान्दिन म। तर सरकारको मति चाहिँ नेताहरूको अपमान गर्ने देखियो।”
उनको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा प्रतिक्रिया आउन थालेको छ। एमाले नेताहरूले उक्त घटनालाई पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताप्रति गरिएको असम्मानजनक व्यवहारको रूपमा व्याख्या गरेका छन्।
यता, सम्बन्धित सुरक्षा निकाय वा सरकारका तर्फबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। विमानस्थलमा सुरक्षा जाँच नियमित प्रक्रियाअनुसार गरिएको हो वा विशेष निर्देशनका आधारमा गरिएको हो भन्ने विषयमा स्पष्टता आउन बाँकी छ।
















