माघ १०, काठमाडौ । — नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगनकुमार थापा आइतबार सर्लाही जाने भएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको क्षेत्र सर्लाही–४ मा पुगेर उनले औपचारिक रूपमा चुनावी अभियान सुरु गर्न लागेका हुन्।
शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा बोल्दै सभापति थापाले यसपटक आफू राजनीतिक कार्यक्रममा सहभागी हुन मात्र नभई उम्मेदवारकै रूपमा सर्लाही जान लागेको स्पष्ट पारे। सर्लाही–४ बाट चुनाव लड्ने निर्णयलाई आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो निर्णय भएको उल्लेख गर्दै उनले स्थानीय युवाको भरोसालाई निर्णायक आधारका रूपमा व्याख्या गरे।
“म जीवनको सबैभन्दा ठूलो राजनीतिक निर्णय गरेर सर्लाही–४ आएको हुँ, त्यो पनि तपाईंहरूको भरोसामा,” उनले भने, “त्यसैले अत्यन्तै उत्साहित भएर सर्लाही जाँदैछु।”
थापाले अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै घर–घरमा पुगेर अभिभावकसँग संवाद गर्न अनुरोध गरे। आफूलाई भरोसा गरेर आएको उम्मेदवारका रूपमा जिताएर संसद् पठाउन युवाले आत्मविश्वासका साथ अभियानमा जुट्नुपर्ने उनले बताए। “हाम्रो साथी, हाम्रो दाइ, हामीलाई भरोसा गरेर आएको छ भनेर विश्वासका साथ तपाईंहरूले काम गरिदिनुहोस्,” उनको आग्रह थियो।
यसअघि शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिने निर्णय गरेको थियो। उक्त प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा पेश गरेका थिए, जसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो।

















