माघ १०, काठमाडौ ।— आगामी प्रधानमन्त्रीका सम्भावित उम्मेदवारहरूबीच प्रत्यक्ष सार्वजनिक बहस गराउने विषयमा राजनीतिक वृत्तमा चर्चा चर्किएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहसँग खुला तथा प्रत्यक्ष प्रसारण हुने बहसमा सहभागी हुन आफू तयार रहेको बताएका छन्।
ओलीको अभिव्यक्तिपछि कांग्रेसको तर्फबाट सहमहामन्त्री उदयशम्शेर राणाले पनि पार्टी सार्वजनिक बहसका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नीतिगत बहस अपरिहार्य रहेको कांग्रेसको धारणा छ।
यता रास्वपाका नेता बालेन शाहको औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ। शाह बहसमा सहभागी भएमा नेपालमै पहिलोपटक प्रधानमन्त्रीका दावेदारहरूबीच खुला, प्रत्यक्ष प्रसारणसहितको सार्वजनिक बहस हुने देखिन्छ। यसलाई नेपालको चुनावी इतिहासमा नयाँ राजनीतिक अभ्यासका रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूले नीतिगत स्पष्टता, पारदर्शिता र मतदातालाई सूचित निर्णय गर्न सहयोग पुर्याउने माध्यमका रूपमा यस्तो बहसलाई महत्वपूर्ण ठानिरहेका छन्। यद्यपि, बहसको स्वरूप, संयोजन र मापदण्डबारे भने अझै स्पष्टता आएको छैन।
















