२० साउन, नयाँ दिल्ली।— बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना निर्वासनमा गएपछि पहिलो पटक सार्वजनिक रूपमा सञ्चारमाध्यमसँग प्रस्तुत भएकी छन्। भारतको नयाँ दिल्लीबाट बुधबार भिडियो कन्फरेन्समार्फत आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान बंगलादेशको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आफू भावुक बनेकी थिइन्।
सम्बोधनका क्रममा हसिनाले आफू केवल पूर्वप्रधानमन्त्रीका रूपमा नभई बंगलादेशका राष्ट्रपिता शेख मुजीबुर रहमानकी छोरीका रूपमा बोलिरहेको बताइन्। उनले वर्तमान बंगलादेश आफूहरूले स्वतन्त्रता र लोकतन्त्रका लागि दिएको बलिदानको भावना अनुरूप नरहेको दाबी गरिन्।
“आज म केवल एक पूर्वप्रधानमन्त्रीका रूपमा होइन, राष्ट्रपिताकी छोरीका रूपमा बोलिरहेकी छु। यो त्यो बंगलादेश होइन, जसका लागि लाखौं मानिसले शहादत दिएका थिए,” उनले भनिन्।
भाषणका क्रममा उनले आफ्नो परिवारका हत्या गरिएका सदस्यहरूको स्मरण गर्दै भावुक भइन्। बोल्दै गर्दा उनी केहीबेर रोकिँदै आँसु पुछेकी थिइन्। उनले आफ्नो परिवारले राष्ट्रका लागि ठूलो त्याग गरेको उल्लेख गर्दै बंगलादेशलाई शान्ति, लोकतन्त्र र विकासको मार्गमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन्।
निर्वासनपछि पहिलो पटक सार्वजनिक रूपमा दिएको यो अभिव्यक्तिलाई बंगलादेशको समसामयिक राजनीतिक परिस्थितिप्रति हसिनाको महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ। पत्रकार सम्मेलनमा उनले देशको वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक अभ्यास र राष्ट्रिय एकताबारे पनि आफ्नो धारणा राखेकी थिइन्।


















