२० साउन, जनकपुरधाम। धनुषा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदसम्बन्धी मुद्दा निरन्तर बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला अदालत धनुषाको पछिल्लो विवरणअनुसार सामाजिक, आर्थिक तथा पारिवारिक कारणले वैवाहिक सम्बन्ध अन्त्य गर्ने प्रवृत्ति बढ्दो क्रममा देखिएको हो।
जिल्ला अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ नयाँ मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ मुद्दासहित अदालतमा कुल ५०० मुद्दा विचाराधीन थिए। तीमध्ये २८१ मुद्दाको फैसला भइसकेको छ भने २१९ मुद्दा अझै विचाराधीन छन्।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा सम्बन्धविच्छेदका ३१५ नयाँ मुद्दा दर्ता भएका थिए। सो वर्ष ३४७ मुद्दाको फैसला भएको थियो भने १६७ मुद्दा चालु आर्थिक वर्षमा सरेका थिए। लगातार बढ्दो दर्ता सङ्ख्याले धनुषामा वैवाहिक सम्बन्धमा तनाव बढ्दै गएको संकेत गरेको अदालतको तथ्याङ्कले देखाएको छ।
कानुन व्यवसायी राजकुमार महासेठका अनुसार शिक्षाको विस्तारसँगै महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, वैदेशिक रोजगारीका कारण लामो समयसम्म पति–पत्नी अलग रहनुपर्ने अवस्था, सामाजिक सञ्जालको बढ्दो प्रयोग, पारिवारिक विवाद तथा घरेलु हिंसाजस्ता कारणले सम्बन्धविच्छेदका घटना बढिरहेका छन्।
उनले गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिवर्तन, एक्लै बस्ने जीवनशैलीप्रतिको आकर्षण तथा व्यक्तिगत स्वतन्त्रताप्रतिको बढ्दो चेतनाले पनि दाम्पत्य सम्बन्धमा चुनौती थपिएको बताए। पछिल्लो समय महिला र पुरुष दुवैले आफूमाथि अन्याय भएको महसुस गरे कानुनी उपचार खोज्ने प्रवृत्ति बढेको उनको भनाइ छ।
यस्तै, कानुन व्यवसायी दीपककुमार विश्वकर्माले सम्बन्धविच्छेदका मुद्दा बढ्दै जाँदा अदालतमा पारिवारिक विवाद समाधानका लागि मध्यस्थता (मेडियसन) को आवश्यकता पनि बढेको बताए। उनका अनुसार समयमै वैवाहिक परामर्श, मनोवैज्ञानिक सहयोग, पारिवारिक संवाद र वैवाहिक शिक्षालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सके सम्बन्धविच्छेदका बढ्दा घटनालाई केही हदसम्म न्यूनीकरण गर्न सकिनेछ।
धनुषामा सम्बन्धविच्छेदका मुद्दाको बढ्दो प्रवृत्तिले एकातर्फ व्यक्तिगत अधिकारप्रति बढेको सचेतना देखाएको छ भने अर्कोतर्फ पारिवारिक सम्बन्धमा संवाद, सहिष्णुता र समझदारी कमजोर बन्दै गएको संकेतसमेत गरेको छ।


















