प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगीसँग छलफल गर्दै, उद्योग प्रवर्द्धन र नीतिगत सुधारमा केन्द्रित हुने

५ साउन , काठमाडौ । — प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११:३० बजे नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनेछन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका चुनौती, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा विस्तृत विचारविमर्श हुनेछ।
हाल सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिँदै उद्योग–व्यवसायमैत्री वातावरण निर्माण गर्ने पहल गरिरहेको छ। सोही क्रममा प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा उद्योगी–व्यवसायी तथा विभिन्न सरोकारवाला निकायसँग नियमित संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, समाधानका उपाय तथा आवश्यक नीतिगत सुधारका विषयमा सुझाव संकलन गर्दै आउनुभएको छ।
प्राप्त सुझावका आधारमा सम्बन्धित मन्त्रालय तथा निकायलाई आवश्यक निर्देशन दिँदै उद्योग तथा लगानीमैत्री वातावरण सुदृढ बनाउन सरकार सक्रिय रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more