५ साउन , जनकपुरधाम। श्रम संस्कृति पार्टीका संयोजक तथा धरानका मेयर हर्क साम्पाङलाई जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा प्रवेश गर्न अवरोध गरिएको छ।
जानकी मन्दिर पुगेका साम्पाङका समर्थकलाई केही युवाले विरोध गर्दै मन्दिर प्रवेश गर्न दिएको छैन। विरोधका कारण साम्पाङको जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम स्थगित भएको जनाइएको छ।
विरोधमा उत्रिएका समूहले साम्पाङले विगतमा गाईको मासुसम्बन्धी दिएको अभिव्यक्ति र उनीमाथि लगाइएका धर्म प्रचारसम्बन्धी आरोपको विरोधस्वरूप मन्दिर प्रवेश रोकिएको दाबी गरेका छन्।
घटनापछि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “गाई कसले खाएको रहेछ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें। यो कसले कस्तो राजनीति गर्न खोजेको रहेछ? जय जानकी मन्दिर!”
त्यस्तै, उनले उक्त घटनाको निन्दा गर्दै गृहमन्त्रीसँग सम्पर्क गर्ने प्रयास गर्दा फोन बन्द रहेको गुनासो गरेका छन्। साथै, आफ्ना समर्थकलाई संयमित र शान्त रहन आग्रह गरेका छन्।

















