२९ असार , जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाको १५औँ नगरसभा सोम्नगर प्रमुख तथा नगरसभा अध्यक्ष मनोज कुमार साहले पानसमा दीप प्रज्वलन गरी विधिवत् उद्घाटन गरेका छन्।
नगरसभामा नगर प्रमुख साहले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकास, सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा प्रभावकारी सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताएका छन्।
त्यसैगरी, उनले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका छन्। बजेटमा आन्तरिक आय वृद्धि, पूर्वाधार विकास तथा शहरी उत्थानशीलता परियोजनालाई विशेष प्राथमिकता दिइएको छ।
उपमहानगरपालिकाका अनुसार बजेटका लागि नेपाल सरकारबाट ३० करोड ५९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान, प्रदेश सरकारबाट करिब २ करोड रुपैयाँ समानीकरण अनुदान, नेपाल तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, सशर्त अनुदान तथा चालु आर्थिक वर्षमा बचत हुने रकमलाई स्रोतका रूपमा परिचालन गरिनेछ। साथै, उपमहानगरपालिकाले आगामी वर्ष २० करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य पनि निर्धारण गरेको छ।
बजेटमा नगर सरसफाइ, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, रोजगारी सिर्जना, पूर्वाधार निर्माण, नगर सौन्दर्यीकरण तथा दिगो, व्यवस्थित र उत्थानशील शहरी विकासका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ।
नगरसभामा उपमहानगरपालिकाका सम्पूर्ण नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरी धिमिरे, कर्मचारी तथा आमन्त्रित विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

















