तलबदेखि व्यक्तिगत लगानीसम्म जनसेवामा खर्च गरेको वडाध्यक्ष केशव यादवको दाबी

३० असार , सर्लाही।  गोडैता नगरपालिकाको वडा नं. १२ मधुवनीका वडाध्यक्ष केशव यादवले  आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका विकास निर्माण, सामाजिक सेवा तथा जनकल्याणका कार्यक्रमहरूको वार्षिक प्रगति विवरण सार्वजनिक गरेका छन्।
सार्वजनिक गरिएको विवरणमा वडाध्यक्ष यादवले सरकारी तलब सुविधा र आफ्नै व्यक्तिगत लगानीसमेत जनहितमा खर्च गरेको दाबी गरेका छन्। विवरणअनुसार उनले सरकारी कोषबाट प्राप्त २ लाख ८६ हजार रुपैयाँ तलब सुविधा आवश्यक समुदाय तथा नागरिकलाई वितरण गरेका छन्।
विवरणमा वडामा २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको, हालसम्म ९०६ जनालाई नेपाली नागरिकता प्राप्त गर्न सहजीकरण गरिएको तथा विवादरहित रूपमा ९ फिट चौडा सडकलाई १५.५ फिटमा विस्तार गरी ढलान गरिएको उल्लेख छ। साथै, सर्लाहीकै पहिलो बालविवाहमुक्त वडा घोषणा गर्न सफल भएको पनि दाबी गरिएको छ।
वडाध्यक्ष कुमारले आफ्नै व्यक्तिगत खर्चमा ५० गर्भवती महिलालाई १ लाख ५० हजार रुपैयाँ बराबरको पौष्टिक आहार वितरण गरेको, मधुवनी स्वास्थ्य चौकीका लागि १ लाख रुपैयाँ बराबरका स्वास्थ्य उपकरण उपलब्ध गराएको तथा विगत नौ वर्षदेखि दलित, अतिविपन्न, गरिब, असहाय र एकल महिलालाई साडी वितरण गर्दै आएको जनाएका छन्।
स्थानीय सरकारको बजेटमार्फत करिब ९ करोड रुपैयाँ बराबरका सडक, मठ–मन्दिर तथा अन्य पूर्वाधार विकासका योजना कार्यान्वयन गरिएको प्रतिवेदनमा उल्लेख छ। साथै २१ जना गरिब तथा जोखिममा रहेका बालबालिकालाई ७५ हजार ६ सय रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको पनि जनाइएको छ।
त्यसैगरी महिला तथा दिव्याङ्गका लागि पाठेघरको स्क्रिनिङ परीक्षण र आवश्यक शल्यक्रियामा सहजीकरण, २० युवालाई सीपमूलक तालिमसँगै २ लाख रुपैयाँ बराबरका सामग्री वितरण, निःशुल्क पशु स्वास्थ्य शिविर, शिव मन्दिरका पुजारीलाई तीन वर्षदेखि आर्थिक सहयोग, तथा २५० जनालाई कम्बल वितरण गरिएको उल्लेख गरिएको छ।
प्रगति विवरणमा २ हजार बिरुवा वितरण, २० वर्ष उमेर पूरा गरी विवाह गर्ने जोडीलाई १० हजार रुपैयाँ प्रोत्साहन, ५४ कृषकलाई कृषि तालिम तथा सामग्री वितरण, क्षयरोग खोजपड्ताल शिविर सञ्चालन तथा १५० जनालाई ह्याण्डपम्प वितरण गरी शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको दाबी गरिएको छ।
त्यसैगरी हनुमान मन्दिर, सरस्वती मन्दिर, मदरसा, ब्रह्मस्थान रोड, अर्नाहा र फुलजोर जाने सडकको ढलान सम्पन्न भएको उल्लेख गरिएको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ मा संघीय सरकारबाट स्वास्थ्य चौकी र प्रदेश सरकारबाट प्रहरी चौकी निर्माणका लागि २ करोड २२ लाख रुपैयाँ बराबरको योजना समावेश गराउन पहल गरिएको पनि जानकारी दिइएको छ।
वडाध्यक्ष यादवले आफ्नै लगानीमा स्वास्थ्य आमा समूहलाई सेनेटरी प्याड वितरण तथा ओमप्रकाश पासवानको प्लस टुसम्मको अध्ययन खर्च व्यक्तिगत रूपमा व्यहोर्ने प्रतिबद्धता कार्यान्वयन गरिएको पनि उल्लेख गरेका छन्।
वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै वडाध्यक्ष केशव कुमारले स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सुरक्षा, महिला सशक्तीकरण, पूर्वाधार विकास र जनसेवालाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि वडाको समग्र विकास तथा नागरिकको जीवनस्तर सुधारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more