१५ जेठ,काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापा ले गरिबलाई विस्थापित गरेर समस्या समाधान नहुने बताएका छन् ।
काँग्रेसले आयोजना गरेको ‘विस्थापनको व्याकुलता: सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले गरिबी हटाउनुपर्नेमा गरिबलाई नै हटाउने काम गरिरहेको आरोप लगाए ।
उनले भने, “गरिब र गरिबी फरक कुरा हो । सरकार कहाँ झुक्किएको छ भने उसको हस्तक्षेप गरिबीविरुद्ध हुनुपर्थ्यो, गरिबलाई नै फालिदिएर गरिबी हट्दैन ।”
थापाले घरसँग मानिसको भावना जोडिएको उल्लेख गर्दै एक्कासी घर भत्काउने सरकारी कदम गलत भएको बताए । संविधानले आत्मसम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको भन्दै भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउनुपर्ने दायित्व राज्यकै भएको उनको भनाइ थियो ।
उनले सरकार कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै भूमिहीन सुकुम्बासीको विषयमा कानुन पालना गर्न सरकार चुकेको आरोप लगाए । केही स्थानीय तहले समेत कानुनविपरीत काम गरेको भन्दै काँग्रेसले नेतृत्व गरेका स्थानीय सरकारलाई पनि कानुन उल्लंघन गरे कारबाही गरिने चेतावनी दिए ।
सभापति थापाले देशभर रहेका होल्डिङ सेन्टरहरूमा मनोसामाजिक परामर्शका लागि काँग्रेसका प्रतिनिधि खटाउन निर्देशन दिने पनि बताए ।
















